जनताको अपेक्षाअनुसार नै काम गर्छौं, एक डेढ वर्षमा केही भएन भनेर चिन्तित हुनु पर्दैन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् ।

‘नेपालबाट समाजवादको नयाँ अध्याय शुरू भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौं । त्यसमा कुनै पनि तलमाथि हुने छैन,’ उनले भने ।

उनले संघ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमत सहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।’

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उनले नेपालको सापेक्षतामा मौलिक ढंगको समाजवादको झण्डा स्थापित गरेरै छाडिने उनको थप जोड थियो । नेकपाका नेता डीपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्दै अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरू सबै अग्निपरीक्षामा रहेको बताए ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उनले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिवद्धता व्यक्त गरे । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पंक्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उनको भनाइ थियो ।