जिग्री-पाँडे अदालत जाने तयारीमा

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित टेलिश्रृङखला भद्रगोल हिजोबाट नयाँ टिमका साथ प्रसारण भएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) सहितको टिमले एक्कासी भद्रगोल रोकेपछि मिडिया हबले नयाँ टिमसहित दर्शकमाझ ल्याएको हो । यता नयाँ भद्रगोल प्रसारण भएसंगै जिग्री र पाँडे आक्रोसित भएका छन् ।

उनीहरुले मिडिया हबले आफुहरुलाई अन्याय गरेको भन्दै अदालत जाने चेतावनी दिएका छन् । मिडिया हबले नयाँ भद्रगोल पुरानै भद्रगोलको निरन्तरता हो भने झै देखाउँन खोजेपछि उनीहरु रिसाएका हुन् । टेलिश्रङखलका परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले सर्जकलाई ढाँटेर छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनाएको भन्दै आपत्ति जनाए । उनले हिजोको नयाँ एपिसोडमा पुरानो भागको क्लिप समेत राखेको भन्दै आपत्ति जनाए ।

शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको भन्दै मिडिया हबले आफुहरुमाथि ज्यादती गरेको र आफुहरु अदालत जाने बताए । जिग्रीले सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक समेत आफुहरुले नपाएको बताएका छन् । उनले आफुहरुको सृजना चोरी भएको र बाँकी पारिश्रृमिक पाउँनु पर्ने माग सहित अदालत जाने बताएका छन् । उनीहरुले नयाँ भद्रगोल निर्माणमा संलग्न सबैबिरुद्ध उजुरी दिने तयारी गरिरहेका छन् । मिडियाहबसंगको सम्झौता सकिएपछि पुरानो टिमले भद्रगोल रोकेका थिए ।