कैलाली भन्सारबाट चार महिनामै सवा अर्ब रुपैयाँ भन्दा बढिको खाद्यान्न आयात

कैलाली भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामै गत आर्थिक वर्षभरिको आयातको तुलनामा दोब्बर बढि चामल तथा गहुँ आयात भएको छ ।

कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को साउन देखि कात्तिक महिनासम्म सो नाकाबाट चामलको तुलनामा गहुँको आयात बढि भएको हो ।

कैलाली भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो १४ चार महिनामा एक करोड ४० लाख छ हजार चार सय १९ किलो चामल आयात भएको छ । यो अवधिमा ५४ करोड ५६ लाख ६९ हजार एक सय ४९ रुपैयाँ मूल्यको चामल आयात भएको हो ।

कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले चामल आयातबाट सात करोड १० लाख ४५ हजार आठ सय १९ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए ।

त्यस्तै, यो अवधिमा दुई करोड ३८ लाख २७ हजार ९५ किलो गहुँ आयात भएको जनाइएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा ७२ करोड २७ लाख १८ हजार सात सय १२ रुपैयाँ मूल्यको गहुँ आयात भएको छ । गहुँ आयातबाट छ करोड ३८ लाख ७७ हजार तीन सय रुपैयाँ राजश्व संकलन गरेको जनाइएको छ ।

कैलाली भन्सार कार्यालका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को अवधिमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ किलो अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० किलो चामल आयात भएको थियो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ५६ करोड ४२ लाख ८१ हजार आठ सय ५१ रुपैयाँ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैयाँ मूल्यको चामल आयात भएको थियो । चामल आयातबाट गत आर्थिक वर्ष २०७६/७७ मा पाँच करोड ४४ लाख ५० हजार एक सय पाँच रुपैयाँ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सात करोड १७ लाख ४९ हजार छ सय ५८ रुपैयाँ राजश्व संकलन भएको थियो ।

त्यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा ९४ लाख ८२ हजार पाँच सय ५७ किलो र अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई करोड १३ लाख ९३ हजार तीन किलो गहुँ आयात भएको थियो । भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ३९ लाख ५२ हजार छ सय ९८ रुपैयाँ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ६३ करोड १७ लाख ४४ हजार चार सय ८७ रुपैयाँ मूल्यको गहुँ आयात भएको थियो । गहुँ आयातबाट गत आर्थिक वर्षमा दुई करोड २० लाख ३८ हजार आठ सय ८८ रुपैया र अघिल्लो आर्थिक वर्षमा तीन करोड १५ लाख ८७ हजार तीन सय ४५ रुपैयाँ राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयका अधिकृत शर्माले बजारको माग अनुसार चामल, गहु“ आयातमा घटबढ हुने गरेको बताए । उनले भने, ‘बजारको माग अनुसार भारतबाट यहाँ चामल गहुँ आयात हुने गरेको छ ।’

कैलालीमा गत आर्थिक वर्ष ०७६÷७७ को तुलनामा यस वर्ष एक हजार एक सय ८८ हेक्टर कम जमिनमा धान खेती गरिएको थियो । गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाइँ गरिएकोमा यस वर्ष एक लाख ८० हजार एक सय ४९ हेक्टर जमिनमा धान रोपिएको थियो । धान रोप्ने खेत घटे पनि ३७ हजार २३ मेट्रिक टन धान बढि उत्पादन भएको जनाइएको छ ।

कैलाली जिल्लामा धान खेतीको क्षेत्र घटेको भए पनि ६.३ प्रतिशतले धान उत्पादन बढेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा कैलालीमा २० हजार २५ मेट्रिक टन धान उत्पादन बढेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा कैलालीमा तीन लाख २० हजार ९५ र आर्थिक वर्ष २०७७/७८ मा तीन लाख ४० हजार एक सय २० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।