बाबुराम भट्टराईलाई कमल थापाको आग्रह: ‘बाबुरामजी ‘गीता’ पढ्नुहोस’

काठमाडौं । हिन्दू धर्ममाथी भ्रम पैदा गरेर धर्मपरिवर्तन गराउनु अपराध हो, बाबरामजीले गीता पढ्नुहोस, जहाँ जातका आधारमा बिभेद छैन – कमल थापा हिन्दू धर्मले नै दलित समुदाय जन्माएको हो । धर्मको राजनीति गरेर दलितहरूको उत्पीड़न कायम राख्ने र जनता ठग्ने काम नगर्दा हुन्छ- बाबुराम

दलित समुदायलाई जन्मदेखि नै अपमान र विभेद गर्ने हिन्दू धर्म नमान्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक अभिब्यक्ति दिएलगतै राप्रपा अध्यक्ष कमल थापासँग फेरी जुहारी चलेको छ । समाजबादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले दिएको अभिब्यक्तिको कडा प्रतिवाद गर्दै थापाले हिन्दू धर्मको ग्रन्थ गीता अध्ययन गर्न भट्टराईलाई सुझाव दिएका छन् ।

दलित जनप्रतिनिधिहरुको कार्यक्रममा भट्टराईले ‘जुन धर्मले तपाईंहरुलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गरेको छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ भन्दै हिन्दू धर्ममाथी प्रहार गरेका थिए । भट्टराईको अभिब्यक्ति भ्रमपूर्ण र धर्मपरिवर्तन गराउन उक्साउने प्रकृतिको भएको भन्दै थापाले आपत्ति समेत जनाएका छन् ।

‘स्वयं भगवान श्रीकृष्णले गितामा जन्मको आधारमा होईन,गुण र कामको आधारमा समाज व्यवस्था गरेको उल्लेख छ । भ्रम सिर्जना गरेर सार्वजनिकरुपमा धर्मपरिवर्तन गर्न उक्साउने कार्य अपराध हो’, थापाले सामाजिक सञ्जालबाट भट्टराईलाई जवाफ दिदै भनेका छन् ‘सनातन धर्मले कुनैपनि प्रकारको विभेद र छुवाछूत कुप्रथा स्विकार गर्दैन।विभिन्न कालखण्डमा शासकवर्गले आफ्नो स्वार्थ पुरागर्न सिर्जना गरिएको विकृति र विसंगतिलाई आधार मानेर सनातन धर्मप्रति नै भ्रम र घृणा पैदागर्न खोज्नु उपयुक्त होईन ।’

थापाको जवाफपछि फेरी भट्टराईले तिखो प्रहार गरेका छन् । धर्मका आडमा राजनीति नगर्न थापालाई चुनौति दिएका छन् । ‘मान्छेको गलगाँडको अपरेसन गर्नु भनेको मान्छे मार्नु हैन । वर्णाश्रम व्यवस्था हिन्दू धर्मको गलगाँड हो । वर्णव्यवस्था उन्मूलन गर्नु भनेको हिन्दू धर्मको विरोध हैन बरू त्यसलाई बढी सुन्दर र ग्राह्य बनाउनु हो । धर्मको राजनीति गरेर दलितहरूको उत्पीड़न कायम राख्ने र जनता ठग्नेहरूलाई चेतना भया’, थापामाथी भट्टराईले फेरी यसरी टिप्पनी गरे ।

हिन्दू धर्म ग्रन्थले कतैपनि जातिय विभेद गरेको पाइदैन । हिन्दूबादी पण्डितहरुले भने जातिय विभेद गर्दै आएका छन् । हिन्दूबादी पण्डितहरुले अहिले पनि दलित समुदायलाई मन्दिर पस्न दिँदैनन् भने उनीहरुले छोएको पानी चलाउँदैनन् ।