फोटोमा अलिकति क्लिभेज देखिएपछि गिद्धेआँखा

‘पहिलो फोटो दाम्मी छ!’

३-४ वटा फोटो सञ्जालमा हालेको केही मिनेटमै आएको प्रतिक्रिया थियो। प्रतिक्रिया सोझै पब्लिक नभई प्राइभेट म्यासेजमा जिब्रो निकालेको इमोजीसँगै थियो। टाइमलाइनमा फेरि फर्केर फोटो जुम गरेर हेरेँ। जुम गर्दा मात्रै थाहा हुने गरी फिटिङ कपडामाथि अलिकति क्लिभेज देखिएको रहेछ। गिद्धेआँखाले भेटिहालेछ, ब्वाँसोपन जागिहालेछ। कमेन्टमा रिसभन्दा दया लाग्यो। उनी अरू यस्तै फोटो देखाउन याचना गर्दै थिए।

एउटा फोटोले कुनै अपरिचितलाई डिएमसम्म तान्न सक्ने मेरो फोटोमा अरू कुनै खुबी थिएन। उनलाई सार्वजनिक रूपमा प्रतिक्रिया जनाउनै मात्र पनि यही क्लिभेजले रोकेको थियो। उनलाई के पनि विश्वास थियो भने यही देखाउनै नहुने अङ्गलाई लिएर उनले जे जस्तो माग गर्न सक्थे र म एक अपराधीझैँ उनका माग पूरा गर्दै जान्थे। अनी महाशयले सुनखानी नै भेटिए जस्तो गरी उत्साहित हुँदै सोधे- ‘कुन साइज हो?’

सामाजिक सञ्जालमा हालिएका फोटाहरू ग्रुपच्याटसम्म पुऱ्याउने, उनिहरूको कुण्ठित भावनालाई स्वप्न शयर गराउने कैंयौं आफ्नै फोटोबारे महिलाहरू अनभिज्ञ हुन्छन्।

नदेखाउने भए किन फोटो हाल्या त? भन्ने पनि हुन सक्छ, तर यसमा मेरो सिधा जवाफ छ, जति देखाएको छ, हेर्न मन भए त्यति नै हेर्नुस्। म्यासेज बक्समा अरू माग्दै नआउनुस्।

हुन त सञ्जालमा मात्रै नभई कहिँ पनि जमघटमा “लुगा माथि तान” भन्ने अथवा भन्न नमिल्ने अवस्थामा आँखाको इशाराले माथि तान भन्ने समाजमै लुगा तान्दै हुर्किएको हो। ब्राको स्ट्राप त जो कोहीले सोध्दै नसोधी छोपिदिन्थे। यसमा कन्सियसली सजग भइरहन्छु म। तर फोटो खिच्दा कहिँ न कहिँ देखिन्छ नै। कतिपय फोटोहरु असाध्यै मन परेको हुन्छ, प्रकाश संयोजनदेखि लिएर पछाडिका मनोरम दृश्यहरु मन लोभ्याउने किसिमको आएको हुन्छ, तर त्यहि क्लिभेज र ब्राको स्ट्राप देखिएकै भरमा ती फोटाहरु मेमोरीकार्डमा नै सहिद भएर बसेका हुन्छन्, कुनै कुनै बेला अति नै मन परेर पोस्ट गरिन्छ, त्यो बेला समग्र तस्बिर मन परेको हुन्छ, तर हेर्ने मान्छेको ध्यान भने अन्त कतै हुँदैन, त्यही हुन्छ जहाँ नहुनुपर्ने थियो। निर्धक्क मुस्काएको फोटोमा देखिएको क्लिभेज लिएर प्रतिक्रिया दिन्छन्, अनि त्यो मुस्कान आफैलाई घाँडो लाग्छ।

इन्टरनेटको जमाना छ, क्लिभेज मात्र हैन, सर्वाङ्ग महिला पुरुषका तस्बिर, चलचित्र बल्ग्रेती भेटिन्छन्, आफ्नो सुषुप्त यौन कुण्ठा मेटाउन परेमा आवश्यक सामग्री जति पनि भेटिन्छन्। उपलब्ध साधनस्रोतको प्रयोग नगर्ने, तर अनिच्छुक महिलालाई अलि क्लियर तस्बिर पठाऊ भनेर म्यासेज गर्नु सरासर गलत हो, त्यो यौन हिंसा हो। यदि महिलाले त्यस्तो चाहन्थिन् भने ती तस्बिर बाहिर सबैले देख्ने गरी नहालीकन, हजुरलाई मात्रै म्यासेजमा पठाउँथिन होला! त्यो कहिल्यै सोच्नु भएको छ?

यहाँ कुरा क्लिभेज देखिएको फोटोले मेरो डिएमसम्म पाल्नु भएका सज्जनको मात्र होइन, यहाँ कुरा गर्न खोजिएको नियत हो, आशय हो। समाजले कोरिदिएको पहिरनको परिभाषालाई चाहेर वा नचाहेरै मतलब नगर्दा त्यसले निम्त्याउने पुरुष मानसिकता हो। क्लिभेज देखिएको फोटोलाई सार्वजनिक आमन्त्रण ठानी आफ्नो पुरुषार्थ देखाउन तम्तयार सेनाको हो।

यसैबीच एउटा प्रसङ्ग स्मरण गर्न चाहन्छु। कुरा केही पहिलेको हो तर सान्दर्भिक हुन सक्छ। दाइ भनेर आस्था गरिएका एक सज्जनले ‘बैनी आउनुस् भेटौं, कफी पिउँ, गफगाफ गरौं’ भन्नु भयो। एकछिन भए पनि बसिबियाँलो हुन्छ भनेर निमन्त्रणा स्वीकार गरेर बोलाएको कफीपसलमा पुगेँ।

कफी मगाउँदा दाइले ‘म त कफी खान्न’ भनेर केही पनि लिनु भएन। कफीपसलमा कफी नै खाने निम्तो दिएर उहाँले कफी खानुभएन। अग्लो गोलाकार टेबुलमा आमने सामने भएर बस्यौँ, गफ गर्दै थियौँ, म निर्धक्क कफी पिउँदै थिएँ। अचानक दाइको हात लम्केर मेरो छातीसम्मै पुग्यो, म तर्सेर पर सरेँ। दाइले मेरो उल्टो भएको पेन्डेन्ट मिलाइदिन खोज्नु भएको रहेछ, गफहरुका बीच मेरो उल्टिएको पेन्डेन्टले दाईलाई श्वास फेर्नै गाह्रो भएको रहेछ क्यारे, हातै हालेर मिलाइदिने कोशिस गर्नुभयो। म तर्सेर पछि सर्दा सबैले हेरे, दाइले मलाई बेइज्जत गरिस् सबको अगाडि जाउँ बाहिर भन्नुभयो। उहाँको इच्छा आफ्नै गाडीसम्म लाने रहेछ तर उहाँको आग्रह अस्वीकार गरेर म आफ्नै बाटो लागे। यसरी म एक अति नै सम्माननीय दाइको पञ्जाबाट फुत्केर हिँडे।

कहिलेकाहिँ यसरी क्लिभेजमा भएका चुम्बकीय आकर्षण जसलाई देखेर कोही नियन्त्रित नै हुन किन सक्तैनन्? आश्चर्यचकित हुन्छु।

फोटोकै कुरा गरौँ। हामीले के बुझ्न जरुरी हुन्छ भने त्यस्तो फोटो जानीजानी नै पोस्ट गरेको खण्डमा पनि त्यस्तो फोटो हाल्या छ पक्कै यौनिक कुरा गर्न खोज्या होला भनेर समाजसेवामा हाम फालिहाल्नु हुदैन। देखाएसी हेरिन्छ, नापिन्छ, कल्पना गरिन्छ भनेर तर्क गर्नेहरु पनि छन, तिनलाइ म नहेर्नुस्, ननाप्नुस्, कल्पना नगर्नुस् भन्न सक्दिन, तर दैलोमा नै गएर महिलालाई नै तिम्रो फोटोले मेरो दिमाग खल्बलायो भन्ने जस्ता कुरा चाहिँ नगर्नुस्। त्यस्तो काम एक त शोभनीय हुँदैन, अनि सामाजिक अपराध पनि हो। एउटा महिलाले आफ्नो बस्त्र पहिरन आफ्नो हिसाबले गर्न पाउँछिन्, तर त्यसको अर्थ तैँले खोजेको यही हैन? भनेर ठोकुवा गर्नु, अनि ल आइज न यसो गरम भन्नु सरासर गलत हो।

इन्टरनेटको जमाना छ, क्लिभेज मात्र हैन, सर्वाङ्ग महिला पुरुषका तस्बिर, चलचित्र बल्ग्रेती भेटिन्छन्, आफ्नो सुषुप्त यौन कुण्ठा मेटाउन परेमा आवश्यक सामग्री जति पनि भेटिन्छन्। उपलब्ध साधनस्रोतको प्रयोग नगर्ने, तर अनिच्छुक महिलालाई अलि क्लियर तस्बिर पठाऊ भनेर म्यासेज गर्नु सरासर गलत हो, त्यो यौन हिंसा हो। यदि महिलाले त्यस्तो चाहन्थिन् भने ती तस्बिर बाहिर सबैले देख्ने गरी नहालीकन, हजुरलाई मात्रै म्यासेजमा पठाउँथिन होला! त्यो कहिल्यै सोच्नु भएको छ?

डिएमसम्म आउने भनेका अपरिचित मात्र होइनन्, परिचित र साथी भनिएकाहरु नै हुन्छन्। आफ्नो ठानेका नै हुन्छन्। मैले आत्मीय सोचेका कयौं यस्ता निस्किए, तिनीहरुले एउटा न एउटा कालखण्डमा पुगेर मलाइ एउटा वस्तु बनाए। साथीहरुको माझ निर्धक्क हुन पाउनु पर्ने एउटा अधिकार जस्तै हो, तर साथी भनिएकैहरु माझ बस्त्रले यति ढाकेन भनेर नियत फेरिएको देख्दा दु:ख लाग्छ।

बर्षौं कुरा गरेका, तर कहिल्यै त्यो हिसाबले कुरा नगरेका, आफ्नै जस्ता पनि एउटा क्लिभेजले मित्रवत व्यबहार बिर्सेर अर्कै रुपमा अगाडि आउँदा आखिर किन भनेर प्रश्न सोध्न कर लाग्ने रहेछ। म पहिला साथी नै थिएँ कि कुन दिन यसले क्लिभेज देखिएको फोटो हाल्छे र झम्टिम्लाँ भनेर धैर्यताको साथ पर्खिएको पोखरीको माछा थिएँ?