श्रृंखला खतिवडाको गुनासोः फ्रान्सबाट फर्किएपछि सामाजिक सञ्जालले मलाई रुवायो

काठमाडौं। म राति अबेरसम्म सामाजिक सञ्जालमा भुल्छु। बढीजसो इन्स्टाग्राम र युट्युब चलाउँछु। फेसबुक कमै खोल्छु। कामका लागि जिमेल, ह्वाट्सएप र भाइबरमा समय बित्छ। टिकटकमा मेरो अकाउन्ट छैन।

कामकै कारण दैनिक घर पुग्दा प्रायः रातको नौ-दश बज्छ। इमेल, मेसेजको रिप्लाई गर्दा कहिलेकाहिँ एक-दुई बजेसम्म पनि लाग्छ।

मेरो लागि सामाजिक सञ्जाल ‘भर्चुअल पर्सनालिटी’ हो। फुर्सद छ भने धेरै पनि चलाउँछु।

अहिले सामाजिक सञ्जाल एउटा समुदायजस्तो भइसक्यो। म को हो भन्ने कुरा नै सामाजिक सञ्जालको प्रोफाइलले देखाउन थाल्यो। यो आफ्नो व्यक्तित्व, चरित्र सबै सामाजिक सञ्जालले व्याख्या गर्ने समय हो।

मेरो व्यक्तित्व बनाइदिएको पनि सामाजिक सञ्जालले नै हो।

म मिस वर्ल्डमा जाने बेला विमानस्थलमा एकजना पनि पत्रकार थिएनन्। तर त्यसको बीस दिनपछि बाबाआमा मलाई भेट्न चीन प्रस्थान गर्न एयरपोर्ट पुग्दा पत्रकारको भीड लागेको थियो । मिस वर्ल्डमा सहभागी हुन चीन गएको बीस दिनमा मेरो सामाजिक सञ्जालमा लाखौं फलोअर्स थपिए।

अहिले पनि विमानस्थलमा बूढी उमेरका आमाहरूले नेपालको चेली भनेर गाला सुम्सुम्याउनुहुन्छ। तिमीलाई त हामीले भोट गरेको नि भन्नुहुन्छ। त्यो सुन्दा एकदम खुसी लाग्छ। मिस वर्ल्डमा गएका बेला मलाई फलो गर्ने कतिले त मलाई चिन्नुभएको थिएन। तर पनि नेपालको चेली भन्दै भोट माग्नुभयो। यो सबै सामाजिक सञ्जालले नै गर्दा भएको हो।

ह्वात्तै आएका फलोवर्समा नेगेटिभ फलोअर्स पनि धेरै हुनुहुँदो रहेछ। त्यसलगत्तै मलाई जोडेर धरै गलत कुराहरू आए। त्यसपछि नै मलाई सामाजिक सञ्जालमा नेगेटिभ जमात पनि हुन्छ भनेर थाहा भयो। तर राम्रो पक्ष के हो भने धेरै फलोअर्स सकारात्मक छन्।

अहिले सामाजिक सञ्जालमा भाइरल हुने ट्रेन्ड छ। केही दिन एउटा कुरा भाइरल हुन्छ। दुई दिनपछि अर्को भाइरल कुरा आउँछ।

म जब युट्युब खोल्छु। अचम्मित हुन्छु। जे ट्रेन्डिङ छ, त्यसकै पछाडि माइक लिएर युट्युबरहरू दौडिएका छन्। धेरैको ध्यान भिजिटर कसरी बढाउने भन्नेमै छ। यो देख्दा दुःख लाग्छ।

मैले कुनै विषयमा राम्रो अन्तर्वार्ता दिएँ भने त्यस्ता भिडिओको भ्युज एकदम थोरै आउँछ।

अर्कोथरि अन्तर्वार्ता हुन्छ, ‘जहाँ श्रृंखलाजी भन्दिनुपर्‍यो तपाईंको कलिउडमा मन पर्ने नायक को हो’ भनेर प्रश्न सोधिन्छ। सोधेपछि जवाफ दिनुपर्‍यो।

अनि उहाँहरूले ‘श्रृंखलाले यसो भनिन्’ भनेर हेडलाइन राख्दिनुहुन्छ। अनि त्यसकै भ्युजचाहिँ १० लाख पुग्छ। यस्तो देख्दा एकदम दिक्क लाग्छ।

सामाजिक सञ्जाल हामी राम्रो तरिकाले प्रयोग गर्न सक्थ्यौं तर यसलाई हामीले फुर्सदिलो हुँदा कुरा काट्ने थलो बनायौं।

एउटा ‘सेन्सेटिभ’ मान्छेको लागि सामाजिक सञ्जाल डरलाग्दो ठाउँ बनेको छ। कोही मान्छे कडा हुन्छन्, थिक स्किन (जसले जे भने पनि सहन सक्ने) भएका उनीहरूलाई सामाजिक सञ्जालमा आउने कमेन्टहरूले फरक नपार्ला। तर मजस्तो सेन्सेटिभ मान्छेलाई धेरै गाह्रो हुन्छ।

केही समयअघि बच्चैदेखिको मिल्ने साथीको बिहे थियो। उसकै बिहेलाई भनेर विदेशबाट फर्किनेबित्तिकै म हेटौंडा पुगें। विवाहको माहौल रमाइलो थियो।

तर त्यसबीच मेरो नजर फ्रान्स भ्रमणको फोटोमा आएका टिप्पणी तर्फ गयो। त्यो फोटोमा आएका कमेन्टले मेरो जिउ नै काम्यो।

विवाहको रमाइलो माहोलमा समेत म रमाउनै सकिन। कोठाभित्र आएर धुरुधुरु रोएँ। कमेन्ट नपढुँ भने पढ्न मन लाग्छ। तर त्यसले धेरै पीडा दिन्छ।

केही दिन अघि म ‘नाडा अटो सो’ को एउटा स्टलमा बसिरहेकी थिएँ। एकजना वृद्ध बुवाले ‘छोरी, तिमीसँग एउटा कुरा गर्नु थियो’ भन्नुभयो।

एकदम भीड थियो तर पनि यसो कान थापेर ध्यानपूर्वक उहाँको कुरा सुनेँ।

‘तिमीलाई मैले अमेरिकाबाट कति भोट दिएको थिएँ तर तिमीले त होली वाइनको प्रचार गरेऊ नि’ भन्नुभयो।

सुरूमा त मैले होली वाइन भनेको शब्दै बुझिनँ र फेरि सोधेँ- उहाँले ‘होली वाइन के’ भनेर दोहोर्‍याउनुभयो। मलाई धर्म प्रचारको आरोप लगाइयो। मेराबारे आएका गलत समाचारको असर थियो त्यो। त्यस्ता गलत समाचारले मान्छेलाई व्यक्तिगत रूपमा छुँदो रहेछ। मलाई त्यसले खिन्न तुल्यायो।

मैले सानैदेखि सेलिब्रेटी जीवन पाएको होइन। म यस्तो माहोलमा हुर्केको पनि त होइन। मिस नेपालबाट झ्याप्प पाएको ‘पपुलारिटी’ थियो। त्यसपछि मिस वर्ल्डमा सहभागी हुँदा ह्वार्रै बढेर गयो। सामाजिक सञ्जालले जसरी माथि पुर्‍याउँछ त्यसैगरी खसाल्छ भन्ने महसुस मैले गरेको छु।

आजकाल केही कुरा पोष्ट गर्नुभन्दा अगाडि सचेत हुन्छु। किनकी सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन। ‘सोसल मिडिया प्रोफाइल’ म्यानेज गर्ने कुरा धेरै गाह्रो कुरा हो।

कहिलेकाहीँ अबदेखि सामाजिक सञ्जाल चलाउँदिनँ भन्ने लाग्छ। तर कतिपय कुराले त्यो गर्न नदिँदो रहेछ। म कति कम्पनीको ब्राण्ड एम्बेसेडर भएको छु। उहाँहरूको पब्लिसिटीमा सहयोग गर्नैपर्‍यो। त्यसका लागि सामाजिक सञ्जाल आवश्यक हुन्छ। फेरि यतिधेरै मान्छेहरूले रूचाउनुभएको छ, उहाँहरुलाई मेरोबारे जान्न मन लाग्छ।

मलाई केही साथीहरू ‘सेलिब्रेटी लाइफमा आउने भएपछि, ‘यु ह्याभ टु एक्सपेक्ट नेगेटिभ एण्ड हेट कमेन्ट’ भन्नुहुन्छ। यो ‘हेट’ एकदम गह्रौं शब्द हो। बरू ‘डिसलाइक’ भन्दिनुस्, ‘हेट’ नभन्नुस्। मेरो प्रोफाइलमा हेट कमेन्ट केही कम छन्। तर जब अरू नायिकाहरुको प्रोफाइल हेर्छु, त्यो अति धेरै छ।

मैले सधैँ एउटै अठोट लिएको छु। जहाँ पुग्छु आफ्नै मेहनतले पुग्छु। म कुनै नेताको छोरी भएकाले माथि पुगेको होइन। मेरो बुवा र आमा सांसद हुनुहुन्छ। तर म नढाँटी भन्छु मैले बुवालाई अहिलेसम्म एकचोटी मात्र व्यक्तिगत कामका लागि गुहारेको छु।

मेरो कक्षा १२ को परीक्षाको नतिजामा ‘एब्सेन्ट’ भनेर आयो। त्यो कुराले मलाई धक्का लाग्यो। म राम्रो पढ्ने विद्यार्थी हुँ। तर त्यो रिजल्टले मलाई पढाइ नै छोडिदिन्छु भन्नेसम्म बनायो।

मैले बाबालाई नेपालको शैक्षिक प्राणालीबाट भर उठ्यो बाबा बरु म दुई वर्ष लस गरेर ‘ए लेभल’ पढ्छु भनेर जंगिए। बाबाले नआत्ती भनेर सम्झाउनुभयो। त्यो बेलामा हो मैले बाबालाई ‘प्लिज बाबा हेल्प मी’ त्यो पेपर मेरो आँखाअगाडि आएर चेक नभइन्जेल म पत्याउन सक्दिनँ भनेँ।

पछि रिचेक गराउँदा मेरो ९१ अंक आएको रैछ। मैले प्रणालीमा खोट भएका बेला मात्र बाबालाई गुहारेको छु। पुल्चोक इन्जिनियरिङ कलेजमा नाम निकाल्दा पनि नेताको छोरी भएर नाम निस्कियो भनेर कतिपयले टिप्पणी गरे। जबकी त्यो सम्भव छैन। प्रधानमन्त्रीकै छोरी भएको भए पनि पुल्चोकमा नाम निकाल्न पढ्नै पर्छ।

मिस नेपालको बेला पनि मेरो बाबाले आयोजकसँग उपाधि जितेपछिमात्र हात मिलाउनुभयो। बाबाले ‘म श्रृंखलाको बाबा है’ भन्नुभयो। मैले मिस नेपालको फारम भर्दा समेत अभिभावकका रूपमा हजुरबुवाको नाम भरेको थिएँ।

तर भोलिपल्टै नेताको छोरी भएर मिस नेपाल जितिन् रे भन्ने हल्ला चल्यो। त्यो सुनेर ठीक छ अब मिस वर्ल्डमा गरेर देखाउँछु, त्यहाँ त नेताको छोरीको पावर नलाग्ला नि भनेर मनमा लिएँ। नेपालमा नेताको छोराछोरीलाई प्रगति गर्न धेरै गाह्रो छ। आफ्नै क्षमताले पनि कहीँ पुग्यो भने एउटा खुट्टा तान्ने बाटो पाइहाल्ने रहेछ।

सेतोपाटीका लागि श्रृंखला खतिवडासँग मनोज सत्याल र विवेक राईले गरेको कुराकानीमा आधारित ।