नेपालसहितका देशमा तत्काल कोरोनाको खोप नआउने!

न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् ।

१७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् । कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन् ।

अमेरिकाको फाइजर र जर्मनीको बायोन्टेक कम्पनी मिलेर बनाएको खोपलाई बेलायतले आपतकालीन प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले बनाएको ‘एडी–फाइभ’ नामक खोपलाई चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ । रुसी खोप स्पुतनिक फाइभ पनि आपतकालीन प्रयोग हुन थालेको छ । रुसमै इपिभाक नामक खोपले प्रयोग अनुमति पाएको छ ।

यस्तै, वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रडक्टस्ले तयार पारेको खोपलाई संयुक्त अरब इमिरेट्स ९युएई०ले प्रयोग अनुमति दिएको छ । चीनकै सिनोफर्माले तयार पारेको खोपलाई पनि युएईले प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनीले सिनोभाक बायोटेकले बनाएको खोपले चीनभित्र प्रयोगका लागि अनुमति पाएको छ । तथापि, हालसम्म कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि सुलभ भएको छैन । र, त्यसका लागि अझै केही समय पर्खिनुपर्नेछ । आपत्कालीन प्रयोग अनुमति पाएका खोपहरूले भने महामारीविरुद्धको लडाइँमा संसारभर आशाको सञ्चार गराएका छन् ।

कहिलेसम्म आइपुग्ला खोप ?

खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पु¥याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताउँदै आएको छ । सन् २०२१ को मध्य अर्थात् जुन, जुलाईदेखि भने संसारभर खोप सर्वसुलभ हुने डब्लुएचओको भनाइ छ ।

युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ । र, सन् २०२० को अन्त्यसम्ममा पाँच करोड डोज खोप उपलब्ध गराउने बताएका छन् । जब कि, उक्त खोप प्रयोग गर्न अनुमति दिएको बेलायतकै जनसंख्या करिब ६ करोड ७८ लाख छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप उत्पादन गर्ने दुवै कम्पनीको लक्ष्य छ । त्यो पनि युरोपको करिब ७४ करोड ७८ लाख जनसंख्यामा दिइसकेर मात्र अन्य विश्वले प्राप्त गर्न सक्ने आकलन गर्न सकिन्छ ।

यस्तै, बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप उत्पादन र वितरण जिम्मा पाएको ब्रिटिस–स्विडिस बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेका पनि ठूलो परिमाणमा खोप उत्पादनको तयारीमा छ । अक्सफोर्डको खोप सफल देखिएमा बेलायतका लागि १० करोड डोज र विश्वभरलाई दुई अर्ब डोज उत्पादन गर्ने बताउँदै आएको छ । अरू दर्जनौँ कम्पनीले पनि खोप उत्पादन र वितरण सम्झौता गरेका छन् । तर, त्यसका लागि त पहिले उनीहरूले सम्झौता गरेको खोप सफल देखिनु अनिवार्य छ ।

रुस कोरोना भाइरसविरुद्ध खोप निर्माण गर्ने र आपत्कालीन प्रयोगको अनुमति दिने पहिलो मुलुक हो । रुसले गत अगस्टमै स्पुतनिक–फाइभलाई मान्यता दिएको थियो । स्पुतनिक–फाइभ ९५ प्रतिशतसम्म प्रभावकारी रहेको निर्माणमा संलग्न विज्ञहरूले दाबी गरेका छन् । उक्त खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उनीहरूको दाबी छ । तर, स्पुतनिक–फाइभ पनि ठूलो जनसंख्यामा परीक्षण भएको छैन ।

स्पुतनिक–फाइभ दुई चरणमा लगाउनुपर्नेछ । पहिलो चरणको ‘डोज’ लगाउन हजारौँले नाम टिपाएका छन् । त्यसरी नाम टिपाएकाहरूलाई पनि तत्काल खोप उपलब्ध हुने सम्भावना छैन । किनकि, रुसले ठूलो परिमाणमा खोप उत्पादन गर्न सकिरहेको छैन । सन् २०२० अन्त्यसम्म २० लाख डोज मात्रै उत्पादन गर्न सकिने खोप निर्माता कम्पनीले जनाएको छ । रुसकै जनसंख्या करिब १४ करोड ४५ लाख छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै सातादेखि सर्वसाधारणलाई खोप दिन थालिने बताएका छन् । पहिलो चरणमा विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक काममा खटिएका मानिसलाई खोप दिइने उनको भनाइ छ । मस्कोको मात्र जनसंख्या करिब एक करोड २५ लाख छ । पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने रुसी वैज्ञानिकहरूको भनाइ छ ।

कोभिड–१९ बाट आक्रान्त मानव जीवन यतिखेर खोपको व्यग्र प्रतीक्षामा छ । संसारभर निर्माणाधीन खोपमै सबैको विस्फारित नजर छ । र, खोप आएपछि मानव जीवन जनवरी २०२० भन्दा अगाडिकै जस्तो सामान्य बन्ने आशामा सबैमा देखिन्छ । तर, धेरै वैज्ञानिकले विश्वभरको जनजीवन पहिलेझैँ सामान्य बन्न समय लाग्ने बताएका छन् । खोप आएपछि पनि ‘मास्क’ नलगाई हिँडडुल गर्न लामै समय पर्खिनुपर्ने उनीहरूको भनाइ छ । त्यसको पछाडि केही महत्वपूर्ण कारण छन् ।

नेपालमा माइनस ७० डिग्री भण्डारण क्षमता नै छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्ध बनिरहेका खोप प्लस दुईदेखि माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्ने खालका छन् । मन्त्रालयको खोप शाखाका अनुसार नेपालमा प्लस दुईदेखि आठ डिग्री सेल्सियसभन्दा माथिको भण्डारण क्षमता छैन । ‘अहिले नेपालमा प्रयोग भइरहेका खोप दुईदेखि आठ डिग्रीसम्ममा भण्डारण गर्न मिल्ने छन् । केही संख्यामा माइनस २० डिग्री सेल्सियसमा राख्न सक्ने क्षमता छ,’ खोप सुपरभाइजर भरत भण्डारी भन्छन्, ‘तर, माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमता छैन । ती खोप नेपालमा ल्याए एक वर्ष लगाउन सकिँदैन ।’ त्यसका लागि नेपालमा पर्याप्त तयारी र उपकरणको जोहो गर्दैमा समय बित्ने उनको भनाइ छ ।

मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत खोप ल्याउने तयारीस्वरूप छलफल अगाडि बढाएको छ । ‘गाभी’, विश्व स्वास्थ्य संगठन र सेपी नामक अन्तर्राष्ट्रिय संस्थाले एक सय ८६ वटा मुलुकलाई खोप दिन सूचीकृत गरेको छ । धनी र गरिब मुलुकबीच खोप पाउने र नपाउने अवस्था नआओस् भनेर कोभ्याक्स सुविधाको व्यवस्था मिलाइएको हो ।

खोप बनेर सूचीकृत भएपछि ती संस्थाले दुई अर्ब डोज खोप खरिद गर्नेछन् । कोभ्याक्समा नेपाल पनि सहभागी छ । त्यस नाताले सदस्य मुलुकका २० प्रतिशत नागरिकलाई पुग्ने खोप सुविधा नेपालले पनि पाउनेछ । उत्पादक मुलुक, डब्लुएचओ हुँदै नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएपछि खोप ल्याउन मिल्छ । कोभिड–१९ खोप ल्याउन ४८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ । नयाँ पत्रिकामा खबर छ ।