विद्यार्थीको पहिलाे रोजाइ बन्यो दरबार हाइस्कुल

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ ।

०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको सो स्कुल भवनलाई आकर्षक ढंगले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकीप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कुल ।

यसबाट निस्केका प्रतिभाहरूले नै उतिवेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् ।

त्यतिवेला नेपालमा यसको विकल्प थिएन, तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदयजस्ता विद्यालय खुल्न थाले । ००७ सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरू विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कुलको आकर्षण कायमै थियो ।

विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो।

पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रताप मल्लकालीन रानीपोखरी र जंगबहादुरकालीन दरबार हाइस्कुल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।

नेपाल सरकारले काठमाडौं उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी संख्या निर्धारित संख्यामा पुगेको छ ।

काठमाडौं महानगरपालिका– २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

भवनको निर्माणसँगै भानु माविमा दुई सय ८७ र संस्कृत माविमा तीन सय गरी विद्यार्थी संख्या पाँच सय ८७ पुगेको छ । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् ।

विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालिम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ । विश्वव्यापी कोभिड– १९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कुल तीन सय विद्यार्थी थिए ।

‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिनेछन्,’ सदस्य बज्राचार्यले भने ।

भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरूप पहिलेजस्तै देखिन्छ । नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन् ।

भवनको डिजाइन ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउँछन् । पुनर्निर्मित विद्यालय भवनको शिलान्यास ०७५ साल साउन १८ गते गरिएको थियो । चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो ।

सुरुमा निर्माण गर्दा माटो, इँटा, चुनालगायतका सामाग्री प्रयोग भएकाेमा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्सापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको थियो।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रूपले निर्माण गरिएका छन् ।

कुल रु. ८५ करोड ५९ लाखको लागतमा निर्माण गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कुल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ ।

भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरूप विद्यार्थी आउने बताए । उनले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएकोे जानकारी दिए ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ ।

तत्कालीन राणा सरकारले वि.सं. १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि वि.सं. १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए ।
राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कुलमा अंग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

वि.सं. १९३३ मा रणोद्वीपसिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि त्यहाँ पढ्न पाउने व्यवस्था भएको थियो ।

वि.सं. १९४२ मा रणोद्वीपको हत्यापछि वीरशमशेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोकानजिक सारेका थिए । वि.सं. १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार हाइस्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।