हिँडेको अमेरिका, पुगे वेश्यालय ! प्रतिकार गर्न खोज्दा बाटोमा मारेर फाल्ने धम्की

रोजगारीका लागि अमेरिका हिडेकी गोरखाकी रक्षा भट्ट (नाम परिवर्तन) ७ महिना भारत हुँदै रोमानिया र सर्बिया पुगेर नेपाल फर्किइन् । सात महिनाको अवधिमा उनलाई अमेरिका लैजाने भनेर एजेन्टले ५ वटा देश घुमाए । अमेरिका हिंडेकी उनी अन्त्यमा रोमानिया पुगेर नेपाल फर्किएको बताउँछिन् ।

रोजगारीका लागि अमेरिका नभए क्यानडा लैजाने भनेर नेपालबाट एजेन्टले आश्वासन देखाएर लगेको रक्षाले बताइन् । ‘नेपालबाट सिधै थाइल्याण्ड जानुपर्छ भनेर हिंड्यौ । तर, भारतबाट रोमानिया हुँदै जाँदा सजिलो हुन्छ भनेर एजेन्टले भारतको मुम्बई पुर्‍याएर ७ दिनपछि थाइल्याण्ड लग्यो । थाइल्याण्डमा एक महिना राख्दा हरेक साता एजेन्टले परिवारसँग भिसा आयो भन्दै पैसा मागे,’ उनले भनिन्, ‘घरबाट हिडेदेखि करिब सर्बिया भन्ने देश पुग्दासम्म एजेन्टले परिवारसँग १५ लाख रुपैयाँ लिए । थाइल्याण्ड पुगेपछि मात्र थाहा भयो एजेन्टले अमेरिका पठाउँछु भनेर ठगी गरेको रहेछ भनेर ।’

विराटनगरका एलबी गौतम भन्ने एजेन्ट थाइल्याण्डमा छन् । उनले नेपालमा एजेन्ट राखेर अमेरिका, क्यानडा र यूरोपका देश रोजगारीमा पठाइदिने भन्दै धेरै व्यक्तिलाई ठगी गर्दै बसेको उनको भनाइ छ । थाइल्याण्डमा क्यानडा, अमेरिका र यूरोपका विकाशित देश हिडेका धेरै नेपाली अलपत्र अवस्थामा एजेन्टलाई पैसा खुवाएर बसेको भेटेको रक्षाले जानकारी दिइन् ।

ओशो, हार्ट इन्टरनेसनल क्याची एजुकेशन एण्ड ट्रेनिङ् कन्सल्टेन्सीले धेरै मान्छे अमेरिका लैजाने भनेर रोमानिया र थाइल्याण्डमा अलपत्र पारेर राखेको भेटिएको रक्षा बताउँछिन् ।

बाटोमै लाश ग्याप गर्ने धम्की

रक्षालाई पुतलीसडकमा रहेको भिजन अफ कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर भनिने कपिल बुढामगरले अमेरिका रोजगारीमा पठाइदिने भनेर नेपालमा थाइल्याण्ड पुर्‍याएका थिए । भट्ट हाल, एजेन्ट र कन्सल्टेन्सीका नाममा उजुरी गर्न वैदेशिक रोजगार विभाग र प्रहरी अपराध महाशाखा धाइरहेकी छिन् ।

३ जना एजेन्टका नाममा रोजगारीका नाममा ठगी र मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता गरेको विभागमा भेटिएकी रक्षाले बताइन् । ‘भारत हुँदै थाइल्याण्ड, टर्की, हंगेरी, बुल्गारिया, मोल्दोवासम्म पुगेर फर्किए । भारत र थाइल्याण्डमा रोजगारीका नाममा मानव तस्करी गर्ने धेरै नेपाली दलाल छन् । उनीहरु नेपालमा एजेन्ट राखेर विकाशित देशको रोजगारीमा पठाइदिने भन्दै ठगि गरिरहेका छन्,’ उनले भनिन्, ‘अवैध बाटो भएर अमेरिका हिडेको नेपाली दिदीबहिनी बाटोमै एजेन्टले बलात्कार गर्छन् । एजेन्टलाई केही भनेर प्रतिकार गर्न खोज्दा बाटोमा मारेर फाल्ने धम्की दिन्छन् ।’

नेपालको सिमाना नाघेपछि ‘भनेको मानेनौ भने बाटोमै मारेर गायब गर्ने’ एजेन्टले बारम्बार धम्क्याउने गरेको उनको भनाइ छ । नेपालदेखि रोजगारीमा विकाशित देश हिडेका कतिपय महिलालाई एजेन्टले जबरजस्ती वेश्यालयमा पुर्‍याउने गरेको प्रत्यक्ष देखेको उनले अनुभव सुनाइन् । रोजगारीका लागि हिडेका केटीलाई बाटैपिच्छे एजेन्टले शोषण गर्ने गरेको उनको भनाइ छ ।

सजिलै बारमा पुर्‍याउँछन्

एजेन्टको प्रलोभनमा परेर अमेरिका रोजगारीका लागि हिडेका कतिपय युवती स्वदेश फर्किन सक्ने अवस्था नभएपछि थाइल्याण्ड र आफू पुगेको देशका बार/क्लबमा काम गर्ने बाध्य हुनुपरेको रक्षाले जानकारी दिइन्।

नेपालबाट अमेरिका भनेर भारत र थाइल्याण्डबाट विभिन्न देशका बारमा काम गर्ने नेपाली महिला लैजाने गरेको थाहा पाएको उनले बताइन् । ‘बीबीए पास गरेर बेरोजगार बसेको थिएँ । गाँउका एक जना दाइले थाइल्याण्ड हुँदै अमेरिका लैजाने मान्छे छ भन्नुभयो । त्यसपछि मैले नि परिवारमा सल्लाह गरेर अमेरिका हिडेको थिएँ । झण्डै थाइल्याण्ड र सार्बियाको वेश्यालयमा बेचिएँ,’ उनले भनिन् ‘एजेन्टले थाइल्याण्ड पुगेपछि अब अमेरिका जानु छ । यहाँ मनोरञ्जन क्षेत्रमा काम गर्नुपर्छ भनेर विदेशी नागरिक भएको बारमा पटक पटक पुर्‍याए । थाइल्याण्डमा मात्र होइन रोमानियामा समेत उस्तै बारमा काम गर्न भनेर लगेका थिए ।’

आफूसहित नेपाली महिलाहरुले पैसा र ज्यानका लागि जुनसुकै हदको काम पनि गरेको उनको भनाइ छ ।

देशभित्र अध्ययन सकेपछि रोजगारी नपाउँदा ज्यान जोखिम राखेर विदेश जान खोज्दा बाध्यताले बेचिनुपरेको रक्षा दुखेसो पोख्छिन् । रोजगारीका लागि अमेरिका, क्यानडा हिडेका धेरै युवती विदेशी बार/क्लबमा बेचिएका छन् । स्वदेश फर्किएपछि यो विषयमा प्रहरी र सम्बन्धित निकायमा सूचना दिंदा विश्वास नगरेको उनको भनाइ छ।

रोजगारीका लागि अमेरिका, क्यानडा, अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशहरुमा पठाइदिने भन्दै एजेन्टले ठगी गरेको धेरै समस्या लिएर पीडित आउने गरेको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभाग, अनुसन्धान प्रहरी र मानव बेचबिखन ब्यूरोमा राजनीतिक शक्तिको बलमा कन्सल्टेन्सीहरुले शैक्षिक मानव तस्करी गरेका घटनाको चाङ छ । नेपालमा सञ्चालित एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया, जापान, बेलायत, भारत, अमेरिका, जर्मन, बंगलादेश र फिलिपिन्सस लगायतका देशमा विद्यार्थी पठाउँदै आएका छन् ।

कन्सल्टेन्सीहरु विभिन्न सामाजिक सञ्जालमा यूरोपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेर ठगी गर्दै आएका छन् । झुठो विज्ञापनमार्फत यूवालाई ठगी गर्ने मनसाय राखेको कतिपय कन्सल्टेन्सीलाई विभागले छापा हान्दै आए पनि नियन्त्रण हुनसकेको छैन् । सरकारी तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ६५ हजार विद्यार्थी विभिन्न देशका कलेजमा अध्ययनका पुगेका थिए ।