दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर शनिबारदेखि सर्वसाधारणका लागि खुल्ला

दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिर शनिबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

२०७६ चैत ११ देखि सुरु भएको लकडाउन यता बन्द रहेको मन्दिर शनिबारबाट खोलिएको हो । भीमेश्वर मन्दिर गुठी तथा पूजा ब्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार दर्शनार्थीका लागि भौतिक दूरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शनिबार बिहानैदेखि मन्दिर खुला गरिएको छ ।

दर्शनार्थीका लागि मन्दिर छेउको धारामा हात धुने व्यवस्था गरिएको छ, भने मास्क लगाएर मात्र मन्दिरको मुल गेटबाट भित्र प्रवेश गराईनेछ । मन्दिर परिसरमा भौतिक दूरी कायम गराउन लाइन लाग्ने चिन्ह बनाइएको छ । मन्दिरको शिला रहेको स्थानमा भने ढोका भन्दा बाहिरैबाट दर्शन गराउने ब्यवस्था गरिएको छ । भीमेश्वरको शीलामा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ ।

दुई साताअघि समेत भीमेश्वरको शिलामा पसिना आएको थियो। मन्दिरमा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने प्रचलन अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीको तर्फबाट आगामी मंसिर २७ गते क्षमा पूजा तथा लगुरुद्रि गरिँदैछ।