ताप्लेजुङमा हिमपात सुरु भयो;पाथीभरा क्षेत्रमा देखिन थाल्यो सेताम्मे

ताप्लेजुङमा अघिल्लो वर्षभन्दा ठीक सातदिन हिमपात सुरु भएको छ । अघिल्लो वर्ष मंसिर २८ गते पहिलोपटक हिमपात भएको थियो । ३ हजार ७९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर र आसपासमा भने शुक्रबार बेलुकी हिमपात भएको थियो ।

मन्दिरमा रहेका पूजारी डिल्ली आचार्यले शनिबार दिउँसोबाट हिउँ नपरे पनि मौसम बिग्रिएकोले पानी र हिमपातको सम्भावना औंल्याएका छन्। ‘चिसो धेरै बढेको छ । शनिबार  बिहान सम्म आशिंक हिउँ परिरहेको थियो’, उनले भने । मन्दिरको मुख्य प्रवेशद्धारबाट मन्दिर परिसर सम्म नै हिउँ मजाले जमेको उनले जानकारी दिए । रातीको समयमा पानी पर्ने हो भने पानीसंगै हिउँ थपिने सम्भावना अधिक रहन्छ ।

पाथीभराको माथिल्लो फेदी क्षेत्रमा भने शनिबार अपरान्ह सम्म हिउँ आई नपुगेको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराइले जानकारी दिए । तर माथिल्लो फेदी भन्दा उकालो पाथीभरा डाँडा पुग्ने बाटोमा भने हिउँ सेताम्मे रहेको स्थानीयले बताएका छन् । हल्का पानी र मौसम धुम्मिएसंगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । डाँडाकाँडा सेताम्मे देखिन थालेका छन् ।

बिहीबार बिहान अलिअलि पानी परेर दिउँसो अघ्रिएपनि शुक्रबार साँझबाट भने मौसम पूरै धुम्मिएको छ । शुक्रबार साँझ हल्का बर्षा समेत भएको थियो । अहिले मौसम धुम्मिएको र पानी पर्ने क्रम पनि सुरु हुने हो भने हिमपातको मात्रा बढ्ने देखिएको छ ।