गाँ’जालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो राष्ट्रसंघले

राष्ट्रसंघीय नियोगले गाँ’जालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ। यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ।

लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो।

भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो।

प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ।

अन्य पक्षराष्ट्रमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत छन्।

जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए। युक्रेन मतदानमा अनुपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ।

‘संसारभर औषधिका रूपमा गाँजा प्रयोग गर्ने लाखौं मान्छेका लागि यो सुखद समाचार हो,’ गाँजाबारे वकालत गर्दै आएका संस्थाहरूले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै सिएनएनले लेखेको छ।

इन्टरनेसनल ड्रग पोलिसी कन्सोर्टियमका कार्यकारी निर्देशक आन फोर्डामले भने वर्गीकरण हेरफेरले मात्र गाँजाबारे फैलाइएको गलत हल्लामा परिवर्तन नआउने बताएका छन्।

‘यो निर्णयले तत्काल गाँजा खुला गर्न सम्भव नहोला। तर, राष्ट्रस‌ंघको निर्णय कुरेर बसेका धेरै देशलाई अब गाँजाको औषधीय गुण स्वीकार गर्न र यसलाई औषधिका रूपमा प्रयोग गर्न सहज हुनेछ,’ उनी भन्छन्।

पछिल्लो समय भएका विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। यही अनुसन्धानका आधारमा गाँजा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो।

नेपालमा गाँजा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरूआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यति बेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्‍यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्‍यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।

त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुपदार्थको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्‍यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो।

खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो।

गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ। उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ। नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ। भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको भनाइ छ। अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो। प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए।

बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा सांसद खतिवडाले विदेशमा गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।