प्रधानमन्त्री ओलीको गृह जिल्लामा राजतन्त्रको पुनर्स्थापना माग गर्दै राप्रपाको शक्ति प्रदर्शन हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार शक्ति प्रदर्शन गर्ने भएको छ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनर्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रसायनिक मलको अभावलगायतका विषयमा केन्द्रीत रहेर झापामा राप्रपाले प्रदर्शन गर्न लागेको राप्रपाका संघीय सांसद राजेन्द्र लिङ्देनले जानकारी दिए।

लिङ्देनका अनुसार काकडभिट्टाबाट मध्यान्ह १२ बजे एकैसाथ मोटरसाइकल र्‍याली निकालेर विर्तामोडमा आएर कोणसभा गर्ने कार्यक्रम छ। राजसंस्थाको पक्षमा मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहेका बेला झापाको प्रदर्शनलाई भने राजनीतिक विश्लेषकले अर्थपूर्ण ढंगले हेरेका छन्।

झापामा आज हुने प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी फ्रन्ट लाइनमा हुने पार्टीका नेता लिङ्देनले बताए। उनले २० गते २० हजार सर्वसाधारण राजसंस्था र हिन्दू राज्यको पक्षमा सडकमा उत्रने दाबी गरे। प्रदर्शनमा सरकारले अवरोध गरे प्रतिकार गरिनेसमेत सांसद लिङ्देनले चेतावनी दिएका छन्।