योभन्दा बढी सहन सक्दैनौँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने बताएका छन् । आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उनको निष्कर्ष छ ।

“जता पनि विपक्षीलाई दमन गर्ने, अरुको अस्तित्व स्विकार नगर्ने देखियो । सरकारले दमनकारी बाटो लियो । यो सरकार सर्वत्ताबादको बाटोतर्फ जान लाग्यो । यो एउटा घटना मात्रै होइन । यस्ता घटना गाउँगाउँमा जिल्लाजिल्लामा घट्दै आएका थिए,” नेता पौडेलले बाह्रखरीसँग भने, “यसले अहिले पराकाष्टा लियो, जव की मलाई हातहाल्यो । योभन्दा बढी हामी सहन सक्दैनौं । देशलाई हेर्दाहेर्दै प्रतिगमन र सर्वसत्ताबादतिर लान खोजियो । यसलाई रोक्नु कांग्रेसको कर्तब्य हो ।”

पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको बताए । उनले पार्टीको पहिलो बैठकबाट आन्तरिक कुरालाई टुङ्ग्याएर अधिवेशनका विषयमा पनि छलफल गर्ने जानकारी दिँदै त्यसपछि विरोधका सशक्त कार्यक्रमलाई अघि बढाउने बताए ।

सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको बताएका पौडेलले यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पारे । पूर्ण नियन्त्रण गर्ने शैली सरकारले देखाएको उनको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिए । “दैखाउँदैनन् भने लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् । मैले भनेको सही हो,” उनले अगाडि थपे, “कम्युनिष्टहरुले नेपाली जनतालाई शब्दको प्रयोग गरेर धेरै झुक्याए । शब्दमा एउटा छ, व्यवाहारमा अर्कै छ ।”