किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता गरिने बताएकी हुन् ।

उनले सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताइन् । उनले यस्तै किसानले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफैँ बजारको स्थापना गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुनेछ । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको छ ।’

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

उनले सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादीको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ खाद्यवस्तु उपभोग गर्ने वातावरण निर्माण गरिने बताइन् ।