‘गधा धोएर कहिल्यै गाई हुँदैन भने जस्तै कम्युनिस्टहरु कहिल्यै सुध्रिदैनन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथिको आक्रमणले लोकतन्त्र लज्जित भएको टिप्पणी गरेका छन्। एक दिन अघि प्रहरी अवरोधका कारण उद्घाटन गर्न नपाएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्दै पौडेलले पुल उद्घाटन गर्न नदिएर संघीयतामा स्थानीय निकायको तेजोबोध गरेको बताए।

‘यसले संघीयतामा स्थानीय निकायको तेजोबोध भएको छ,’ पौडेलले भने। पुलिसको डण्डाले करङ दुःखेको र धेरै बोल्ने अवस्थामा नरहेको भन्दै पौडेलले पुलिसको दमनले कहिल्यै पनि नछाडेको बताए। ‘मलाई पुलिसको दमनले कहिल्यै पनि छाडेन,’ उनले भने,‘पुलिसको डण्डाले पेलेकाले बोल्न असजिलो भएको छ।’ अझै पनि लोकतन्त्र साकार गर्न बाँकी छ भन्ने यसबाट देखिएको भन्दै उनले लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने आह्वान गरे।

नेकपा नेतालाई कुलंगारको संज्ञा दिएका पौडेलले उनीहरुको हातबाट लोकतन्त्र र परिवर्तनको रक्षा नहुने दाबी गरे। कम्युनिस्ट सुध्रिने ठाउँ नभएको भन्दै उनले गधा धोएर जति धोए पनि गाई नहुने भन्दै कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताए। ‘गधालाई जति धोए पनि गाई हुन्न,’ उनले भने,‘कम्युनिस्टहरु कहिल्यै सुध्रिएनन्।’

पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारीले भोलि कांग्रेस फेरि सत्तामा आउने भन्दै त्यसबेलालाई ख्याल राख्न कर्मचारी र सत्ताधारी दललाई चेतावनी दिए ।