मन्त्रीलाई नयाँ क्वार्टर : जिमहलदेखि स्विमिङपुलसम्म ! १०० सवारी साधन अटाउने पार्किङ पनि (भिडियो)

ललितपुरको पुल्चोकस्थित सामान्य क्वार्टरमा बस्दै आएका संघीय सरकारका मन्त्रीहरूले एक वर्षपछि अत्यधिक सुविधासम्पन्न आवास पाउँदै छन् । ललितपुरकै भैँसेपाटीमा संघीय सरकारका २४ मन्त्रीका लागि नयाँ सरकारी आवास धमाधम बनिरहेको छ । मन्त्रीसँगै प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको आवास पनि निर्माण हुँदै छ ।

साढे दुई तलाको आवासमा लबीदेखि पूजाकोठासम्म बन्नेछ । भुइँतलामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा हुनेछ । पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल हुनेछ ।

दोस्रो तलामा दुईवटा पाहुना कोठासँगै, पूजाकोठा र लन्ड्री हुनेछ । प्रत्येक आवासमा दुईवटा प्रवेशद्वार रहनेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

क्वार्टरमा जिमहल र स्विमिङपुललगायत संरचना पनि बनाइनेछ । पहिलो चरणमा २७ वटा भवन निर्माण भइरहेको छ । यो काम सकिएपछि जिमहल र स्विमिङपुललगायत थप संरचना निर्माण हुनेछन् । क्वार्टरमा हेलिप्याडको सुविधा पनि हुनेछ । सभाहल, जिमहल, हेल्थ क्लब, कम्युनिटी हल दोस्रो चरणमा बनाइने ६ भवनमा रहनेछन् । क्वार्टरमा व्यवस्थित पार्किङको व्यवस्था हुनेछ ।

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछ । ३८ रोपनी आठ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सात आना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीन आना छुट्याइएको छ ।

साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ । मन्त्रीसहित प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको आवास रहने कुल क्षेत्रफल ९६ रोपनी १० आना छ ।

दैनिक एक सय ८० मजदुरले काम गरिरहेको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका आयोजना म्यानेजर ओमकार महर्जनले बताए । कम्पनीका अनुसार अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । लकडाउनका कारण निर्माण केही ढिला भए पनि अबको तीन महिनाभित्र ‘बिल्डिङ स्ट्रक्चर’ तयार हुने महर्जनले बताए ।

‘लकडाउनअघि दैनिक चार सय कामदारले काम गरेका थिए । लकडाउनका कारण काममा अवरोध भयो । अहिले कम कामदारले काम गर्नुपर्दा सोचेजस्तो प्रगति हुन सकेको छैन,’ महर्जनले भने । २६ कात्तिक ०७८ भित्र निर्माण सम्पन्न गर्ने गरी २७ कात्तिक ०७६ मा निर्माण सम्झौता भएको थियो ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै काम सक्न केही समयअघि निर्देशन दिएका थिए । परियोजनाका साइड इञ्चार्ज तथा सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्य कोभिडका कारण केही समय समस्या आए पनि निर्माण प्रगति सन्तोषजनक रहेको बताउँछन् । ‘हामी नियमित अनुगमन गर्दै कुनै समस्या आए तत्काल सुल्झाउने काम गरिरहेका छौँ, तोकिएकै समयमा निर्माण सम्पन्न हुने विश्वास छ,’ उनले भने । २७ वटा भवन निर्माणको कुल लागत एक अर्ब ३ करोड रहेकोमा अहिलेसम्म २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

भैँसेपाटीमै सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि पनि सम्पर्क कार्यालयको नाममा आवास बन्दै छन् । यसका लागि सातवटा ब्लक निर्माण भइरहेका छन् । प्रत्येक ब्लकमा दुईवटा भवन रहने सहरी विकास तथा भवन विभाग विशेष भवन निर्माणका सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले बताए । ‘एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ उनले भने ।

दुई तलाको भवनमा पूजाकोठादेखि योगकक्षसम्म बनाइनेछ । भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।

मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माणका लागि समानान्तर निर्माण कम्पनीले ७२ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ३० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको । निर्माण साइटमा अहिले एक सय २० जना मजदुर काम गरिरहेको कम्पनीका मुख्य इन्जिनियर प्रवीन कर्माचार्यले बताए । ‘सकेसम्म छिटो सम्पन्न गर्ने हाम्रो तयारी छ,’ उनले भने । ०७८ असोजमा निर्माण सक्ने गरी ०७६ असोजमा सम्झौता भएको हो ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने भवनका लागि कुल २७ रोपनी १२ आना जग्गा छुट्याएको छ । त्यसमध्ये १७ रोपनी सात आनामा भवन रहनेछन् । पाँच रोपनीमा आन्तरिक सडक, आठ आनामा बगैँचा र पोखरी तथा चार रोपनी १२ आनामा पार्किङ रहनेछ ।

१७ मंसिर ०७५ को मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले आवास निर्माण अघि बढाएको हो ।

मन्त्रीलाई नयाँ क्वार्टर भिडियो