फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे । “गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभयो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।” त्यसपछि उहाँ डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जानुभयो । एक/दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।” असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको हुनुभयो । दुवैजना माइती घरमा जानुभयो ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उहाँले गहँभरि आँशु खसाल्दै भन्नुभयो, “माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।” उहाँले त्यसपछिका कुरा खोतल्दै भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।”

ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउनुभएको हो । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन । उहाँ भन्नुहुन्छ, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुग्नुभएको छ । सेवा केन्द्रको सेफहाउसमा बस्दै आउनुभएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ । “प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भन्नुभयो, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ ।

भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उहाँले बताउनुभयो ।