लयमा फर्किँदै ठमेल, ‘नाइट लाइफ’ भीड बढ्न थाल्यो

राजधानीको ठमेलमा करिब नौ महिनापछि रात्रिकालीन व्यवसाय सुरु भएको छ। सधैं रुमानी हुने ठमेल कोरोना महामारीपछि सुनसान बनेको थियो। बुधबारदेखि भने ठमेलका क्लब, रेस्टुरेन्ट र बाटोमा मानिसको चहलपहल देख्न पाइने छ।

व्यवसाय संकटमा पर्न लागेको भन्दै ठमेलका व्यवसायीले आन्दोलन गर्नसमेत थालेका छन्। पर्यटकीय पसल, रातमा खुल्ने रेष्टुरेन्ट,क्याफे तथा क्लब खुल्न थालेका छन्। महामारी सुरु भएपछि देशव्यापी गरिएको लकडाउनले यो ठाउँ पूरै प्रभावित बनेको थियो। अहिले भने ठमेलमा भीडभाड क्रमश: बढदै छ।

ठमेलको चर्चित नाइट क्लब ‘एलओडी’ पनि गएराति देखि खुलेको छ। क्लबको रुपमा सञ्चालन नगरी रेष्टुरेन्टको सेवा थालेको उसले जनाएको छ। जहाँ पूर्वराजा ज्ञानेन्द्रका परिवार गएर नाचेका थिए। क्लबले निश्चित सामाजिक दूरी, स्यानिटाइजर र शरीर तापमान जाँची भित्र प्रवेश गर्न दिइने व्यवस्था मिलाएको छ।

अधिकांश व्यवसायले वातावरण सहज हुँदै गएपछि चहलपहल बढाएका छन्। स्वास्थ्य मापदण्ड अपनाएर धेरैजसो पसल, क्लबलगायत खुल्न थालेका ‘एल ओडी’ क्लबका सिइओ रवीन श्रेष्ठ बताउँछन्।

प्रशासनकै अनुमति लिएर रेष्टुरेन्टमा राति ९ बजेसम्म संगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए। १० बजेभित्र सबै हललाई स्यानिटाइज गरी बन्द गरिने उनले जनाए। प्रवेशद्वारमा मानिसको तापक्रम जाँचेर मात्र भित्र छिर्न दिइएको उनको भनाइ छ। उनका अनुसार प्रवेशद्वारमा बाहिरी लुगामा पूर्ण रुपमा स्यानिटाइजर गरिन्छ।

‘पाहुनाहरूले अनिवार्य मास्क र सामाजिक दूरी कायम गर्नुपर्ने छ,’श्रेष्ठले भने,’ क्लबका कर्मचारीहरुले पन्जा, मास्क र फेस लगाएका छन्। ‘५ मिटरको दूरीमा टेबल राखिएको छ। पहिलो दिन रेष्टुरेन्टमा १ सय ५० हाराहारीमा ग्राहकको उपस्थिति थियो।