प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए

नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा भक्तपुरका कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

पौडेललाई बुधबार गृहजिल्ला तनहुँमा पक्राउ गरेको विरोधमा सल्लाघारीस्थित तीन कुनेमा प्रधानमन्त्रीको पुत्ला जलाइएको हो।

कांग्रेस भातृ संगठन तरुण दलको आयोजनामा भएको विरोधमा सभामा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिल्ला कार्यसमिति भक्तपुरका पदाधिकारीहरू, महासमिति सदस्य र स्थानिय पार्टी कार्यकर्तासहितको उपस्थितिमा ओलीको पुत्ला जलाइएको हो।

विरोधसभालाई सम्बोधन गर्दै थापाले सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाए।

उनले अलोकतान्त्रिक हर्कत रोक्न सरकारलाई चेतावी दिए। बुधबार तनहुँको ब्यास नगरपालिकाको पुलको उद्घाटन गर्न पुगेका पौडेललाई सत्तारुढ नेकपाको दबाबमा प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो।

बुधबार उद्घाटन गर्न नपाए पनि पौडेलले बिहीबार दिउँसो उक्त पुलको उद्घाटन गरेका छन्। पक्राउको विरोधमा कांग्रेस भातृ संगठनहरुले बुधबारदेखि नै देशव्यापी आन्दोलन चर्काएका छन्।