मेचीनगर नगरपालिकाकी उपप्रमुख उप्रेतीलाई गाडीभित्रै जलाउने प्रयास

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको गाडीमा आगजनीको प्रयास भएको छ।

उनी चढेको मे १ झ १७२ नम्बरको गाडीमा झापाको मेचीनगरमा अज्ञात समूहले उप्रेती गाडीभित्रै रहेको अवस्थामा आगो लगाउने प्रयास गरेको हो।

आफूलाई गाडीभित्रै जलाउने प्रयास भएको उपप्रमुख उप्रेतीले देशसञ्चारलाई बताइन्।

बिहीबार दिउँसो नेपाल आयल निगमको चारआलीस्थित डिपोमा एउटा कार्यक्रम सकेर नगरपालिका कार्यालय जाँदै गर्दा बाटोमा रोकेर आगो लगाउने प्रयास भएको थियो।

उनले भनिन्, ‘बाटो छेकेर मलाई गाडीबाट उत्रिन आग्रह गरे। मैले मानिनँ। धेरै अनुरोध गरेँ जनताको सम्पत्ति नजलाउन। समूहबाट एकजनाले मान्छेसहित जलाउने भनेपछि पेट्रोल छर्किन थाले। कसो–कसो गरेर भागेर आइपुगेँ।’

मान्छेसहित आगो लगाउने भनेपछि उपप्रमुख उप्रेतीले चालकलाई चाँडो गाडी हाँक्न लगाएर भाग्न सफल भएको उनले बताइन्।

उनले भनिन्, ‘बाटोमा मोटरसाइकल तेर्स्याएर पनि अवरोध गर्न खोजे। तर चालकले गाडी बेस्सरी हुइँक्याएपछि बाँचियो।’

प्रहरी स्रोतका अनुसार नेपाली कांग्रेसका कार्यकर्ताले सरकारी गाडीमाथि अवरोध र तोडफोड गर्नसक्ने सूचना बुधबार नै आइसेकेको थियो। सोही अनुरुप प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो लगाउन प्रयास गर्नेको करिब पहिचान भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले भने, ‘अब यही समूह हो भनेर भन्न सक्ने अवस्था छैन। तर पहिचान भइसकेको छ। हामी भेरिफाइ गर्दैछौँ।’