जसलाई हजुरबुबाको उमेरले समेत भन्छन्, ‘निर्मला दिदी’

बारा । बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागमा जम्मा चार जना छन्। २०७० सालदेखि विभागको नेतृत्व गरिरहेकी छिन्, निर्मला पण्डितले। हेर्दा तीन सिफ्टमा चार जनाले ड्युटी गरिरहेको देखिन्छ। तर, पण्डित भने दिनरात ड्युटीमैै हुन्छिन्।

त्यसका विभिन्न कारण छन्, एक त उनीमाथिका भरोसाका कारण स्थानीय खोज्दै आउँछन्। दोस्रो, सुरक्षित प्रसूति सेवाका लागि दिइने ‘एसबिए’ तालिम चार जनामध्ये उनले मात्रै लिएकी छिन्। यसबाहेक सुरक्षित गर्भपतन, महिलाका लागि परिवार नियोजनका सामग्री राख्ने काम पनि उनीबाहेक अरूले गर्न सक्दैनन्। चौथो, सबैभन्दा सिनियर भएका कारण अरूले सहयोग माग्दा ‘ड्युटी होइन’ भनेर उम्किन पाइँदैन। उम्किन उनको स्वभावले पनि दिँदैन। त्यसकारण निर्मलाको पहिचान निरन्तर खट्ने कर्मचारीका रूपमा बनेको छ।

स्वास्थ्य केन्द्रमा महिनामा ८० जनासम्म प्रसूति सेवाका लागि मात्रै आउँछन्। अन्य चिकित्सकीय सेवाका लागि पनि बिरामीहरू धेरै पुग्छन्। उनीहरूलाई सकेसम्म सेवा नपाएको गुनासो नगर्ने बनाउन आफ्नो तर्फबाट निर्मलाले कुनै कसर बाँकी राखेकी छैनन्।

स्वास्थ्य केन्द्रकै क्वार्टरमा बस्ने भएकाले रातबिरात बिरामीलाई समस्या पर्दा उनी हाजिर भइहाल्छिन्। ‘राति होस् वा कार्यालय समयमा; बिरामीले खोजिहाल्छन्,’ उनले भनिन्, ‘म सकेसम्म पुग्ने प्रयास गरिरहेकी हुन्छु।’

त्यो क्षेत्रमा उनी ‘निर्मला दिदी’का रूपमा परिचित छिन् उनी। पाका मान्छेले पनि उनलाई निर्मला दिदी भनेरै सम्बोधन गर्छन्। उनीहरूले उमेरलाई हेरेर होइन, आफूमाथिको भरोसा जताएर दिदी सम्बोधन गरेको उनले बुझेकी छिन्। त्यसैले

दिदी’ प्रतिको विश्वास कायम राख्ने कोसिस सधैं गरिरहन्छिन्। विश्वासको साइनो भन्ने लाग्छ उनलाई। ‘हजुरबाको उमेरका पनि ‘निर्मला दिदी’ भन्दै भेट्न आउँछन्,’ उनले अनुभव सुनाइन्।

‘निर्मला दिदी’ यहाँसम्म आइपुग्नुको कथा रोचक छ। उनले ससाना सिँढी उक्लेर यहाँसम्म गन्तव्य तय गरेकी हुन्।

बारा जिल्लाको पूर्वमा पर्ने हालको बारागढी गाउँपालिका–४ को गडहलमा बुवा बाबुलाल पण्डित र आमा चम्पादेवी पण्डितकी जेठी सुपुत्रीका रूपमा उनी २०३७ फागुन १९ गते जन्मिइन्। २०५४ सालमा बाराकै गञ्जभवानीपुर माध्यमिक विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्।

एसएलसीको रिजल्ट आएगत्तै बारागढी गाउँपालिका–६ का विजयप्रसाद पण्डितसँग उनको विवाह भयो। त्यसपछि पनि उनमा पढ्ने रहर नभएको होइन। तर, घरायसी कामकै कारण पढाइलाई निरन्तरता दिन मुस्किल पर्‍यो।

पढाइ रोकिएपछि श्रीमान्ले विभिन्न तालिम लिएर कामकाजी बन्न हौस्याइरहे। उनलाई पनि गृहिणी मात्रै भएर थन्किन मन थिएन। त्यसैले चार वर्षपछि २०५८ सालमा कोसी अञ्चल अस्पतालबाट मासिकामा नाम लेखाएर पुनः अध्ययन सुरु गरिन्। चार महिनाको कोर्स पूरा गरिसकेपछि २०५९ भदौ २४ गतेदेखि बाराको गडहल उपस्वास्थ्य चौकीमार्फत काम गर्न सुरु गरिन्।

२०६० सालमा भरतपुर मेडिकल कलेज भरतपुरमा नेपाल सरकारले नै उनलाई अनमी पढाउन पठायो। त्यसलगत्तै उनले लोकसेवा आयोगमा बढुवाको लागि फाराम भरे पनि परीक्षा दिन पाइनन्। तर, उनको योग्यता र कामप्रतिको लगावको मूल्यांकन सरकारले ग¥यो। त्यही वर्ष स्वतः अनमीमा पदस्थापना गरिदियो।

गडहलमा तीन वर्षको सेवापश्चात् दहियार उपस्वास्थ्य चौकीमा ६ वर्षसम्म सेवा दिइन्। २०७० सालमा गञ्जभवानीपुरमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा भयो। हाल त्यहीँबाट सेवा दिइरहेकी छिन्।

आफ्नो कर्तव्यलाई प्राथमिकतामा राख्ने उनले हालसम्म बिरामीहरूको तर्फबाट सहयोग र सद्भाव नै प्राप्त गरेकी छिन्। विवाहपछि करिअर सुरु गरेकी उनी छोरीचेलीलाई समाजमा पहिचान बनाउन हौसला प्रदान गर्नुपर्ने पक्षमा छिन्।

घरमै सुत्केरी गराउने प्रचलनबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउने सोचको विकास नेपाली समाजमा भइरहेको प्रति उनी खुसी छिन्। तर, अझै छोरीमाथिको विभेद हट्न नसकेको कुराले उनको मन कुँड्याउँछ। भन्छिन्, ‘केहीले जन्मिन नपाउँदै छोराछोरीबीच भेदभाव गरेको देख्दा चित्त दुख्छ।’

केहीले छोराका आसमा पाँच जनासम्म छोरी जन्माएको देखेकी उनी चेतनाको विकास अपेक्षित हुन नसकेको बताउँछिन्। उनलाई थाहा छ, छोरी–बुहारीलाई अवसर दिने हो भने प्रमाणित गरेर देखाउन सक्छन्। यही विश्वासले आफ्नो कर्ममार्फत उनी अरूलाई प्रेरित गरिरहेकी छिन्।

  • स्वास्थ्यखबर पत्रीकाबाट