ओलीलाई देउवाको प्रश्न– सुरक्षाका लागि समातेको भए घरमा नलगेर किन चौकीमा लगेको ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आक्रोश व्यक्त गरेका छन् । बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो टेलिफोन गरेको उनका स्वकीय सचिव भानु देउवाले बताए । टेलिफोनमा देउवाले वरिष्ठ नेता पौडेल पक्राउको कारण सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले झडप हुने अवस्था देखिएकाले शान्ति सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिइएको जवाफ दिएका थिए ।
ओलीको जवाफमा प्रतिप्रश्न गर्दै देउवाले भनेका थिए, “शान्तिसुरक्षाको लागि भए उहाँ (पौडेल)लाई किन उहाँको घर नलगेको ? किन चौकी लगेको ?”

तत्काल नेता पौडेलको रिहाइ गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई भनेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बुधबार दिउँसो ब्यास नगरपालिकामा नवनिर्मित पूल उद्घाटनका लागि पौडेल गएका थिए । सो क्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले अवरोध प्रयास गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै जारी गरेको थियो ।

तर, पौडेलले सत्ताको दुरुपयोग गर्दै कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै जिल्ला प्रशासनको निषेधाज्ञा खारेज गर्ने भन्दै पुल उद्घाटन गरेरै छाड्ने बताएका थिए । कार्यकर्तासहित पुल उद्घाटनका लागि जाँदै गर्दा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।