कोरोनाको समयमा शुल्क ढिलो बुझाएको भन्दै कलेजले तिरायो विद्यार्थीलाई जरिवाना 

विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीबाट विलम्ब शुल्क उठाएको छ। फी समयमा नबुझाएको भन्दै कलेजले जरिवाना शुल्क उठाएको विद्यार्थीहरूले बताएका छन्। नोबेलले ल्याब टेक्निसियन, फार्मेसी, डेन्टललगायत पढ्ने विद्यार्थीसँग विलम्ब शुल्क उठाएको हो।

नोबेलले ६ महिनामा तीन किस्ता बुझाउन जाँदा एक विद्यार्थीसँग ४७ हजार ७९२ रुपैयाँसम्म जरिवाना तिराएको एक विद्यार्थीले बताइन्। उनी ल्याब टेक्निसियनकी विद्यार्थी हुन्। उनले ६ महिनाको तीन किस्ताबापत ६२ हजार रुपैयाँ तिर्नुपर्थ्यो। यसमा नोबेलले ४७ हजार ९९२ रुपैयाँ फाइन जोडेर तिराएको उनले बताइन्। ‘फाइनल परीक्षाको लागि फारम भर्ना जाँदा फाइन बुझाउन भनियो, फाइन नबुझाए परीक्षामा सामेल हुन नदिने भनेपछि पैसा बुझाउन बाध्य भयौं,’ ती विद्यार्थीले भनिन्।
उनले मंसिर १० गतेमात्र फाइन तिरेकी थिइन्।

नोबेलमा ल्याब टेक्निसियन पढ्ने विद्यार्थीले कलेजलाई तिर्नुपर्ने जम्मा रकम ३८ हजार थियो। कोरोना महामारीको बेला पढाइ रोकियो। अभ्यासलगायत पनि बन्द छन्। अहिले पनि कक्षा सुरू भएको छैन। ‘तर, अहिले जरिवानासमेत जोडेर परीक्षा फारम भर्न दिने नत्र परीक्षाबाट बञ्चित गराउने कलेजको नियत देखियो,’ ती विद्यार्थीले भनिन्। कलेजले सबैजसो फ्याकल्टीमा विलम्ब शुल्क उठाइरहेको विद्यार्थीले आरोप लगाएका छन्। ‘एमबिबिएसमा धेरैजसो भारतीय विद्यार्थी छन्, उनीहरू विरोध गर्दैनन्,’ ती विद्यार्थीले भनिन्।

एमबिबिएस, बिडिएसका विद्यार्थीले भने अहिलेसम्म बढी शुल्क उठाएको बताएका छैनन्। पढाइ नभएको बेलाको शुल्क नतिर्न सरकारले विद्यार्थी र अभिभावकलाई भनेको थियो। नोबेलले भने पढाइ नभएको बेलाको शुल्कसाथै ढिलो शुल्क बुझाएको भनी फाइन नै तिराएको अर्का एक विद्यार्थीले बताए। ‘परीक्षा रोकिने भनिएपछि शुल्क बुझाउन बाध्य भयौं, हामीले कसलाई भन्ने कलेजले परीक्षामा सामेल गराएन भने त भविष्य बिग्रिन्छ, जसरी पनि पैसा उठाउने नीति देखिन्छ,’ ती विद्यार्थीले भने।
नोबेल टिचिङ कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेले भने विलम्ब शुल्क उठाएकोबारे आफूलाई थाहा नहुने बताए।

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालले विद्यार्थीले गरेको गुनासो सुनिरहेको र त्यो यथार्थ नरहेको बताए।
‘जरिवानाको जुन कुरा छ त्यो खास केही पनि हैन, विद्यार्थीले किन गुनासो गरेका हुन् हामी बुझ्दैछौं,’ उनले भने। नोबेलले विभिन्न १० वटा चिकित्सा शिक्षाका कार्यक्रम चलाउँछ। काठमाडौं विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त नोबेलले एमडी/एमएस, एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस कार्यक्रम चलाइरहेको छ।

यस्तै, नोबेलमा सिटिइभिटीका पिसिएल नर्सिङ, पिसिएल मेडिकल ल्याब टेक्नोलोजी, पिसिएल रेडियोलोजी, पिसिएल डेन्टल र डिप्लोमा इन फार्मेसी कार्यक्रम छन्। नोबेलले डिप्लोमा इन फार्मेसीको तीन वर्षे कोर्ष पूरा गर्दा ३ लाख ३७ हजार रुपैयाँ शुल्क तोकेको छ। डिप्लोमा इन फार्मेसीमा समयमा शुल्क नबुझाएको भन्दै जम्मा शुल्कको ३६ प्रतिशत जरिवाना तिर्न दबाब दिइरहेको विद्यार्थीले बताएका छन्। चिकित्साको एमबिबिएस र बिडिएसमा सरकारले शुल्क तोक्ने नियम छ। तर, अन्य शैक्षिक कार्यक्रममा भने निजी कलेजहरूले मनखुसी शुल्क निर्धारण गरिरहेका छन्।