मेरा लागि जेल सुधारगृह बन्यो : सडक पाइलट, अजय लामा

(मानिसको जीवन एकैनाशको हुँदैन । सुखमात्र पनि हुँदैन र दुःखमात्र पनि हुँदैन । त्यसैले जीवनको परिभाषाभित्र मिश्रित रुप मिसिएको हुन्छ । कहिले मोजमस्तीले मानिस बिग्रन्छ त कहिले गल्तीबाट पाठ पनि सिक्छ । यस्तै जीवनमो उतारचढावबाट पाठ सिकेका सडक पाइलट हुन् अजय लामा भनिने ज्ञानबहादुर स्याङ्तान । उनलाई सबैले अजय लामा भनेरै चिन्छन् । ना ७ ख ५८० नम्बरको गाडीका चालक ३२ वर्षे अजय कसरी नख्खू जेल पुगे र के सिकेर फर्के ? सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसंग आफ्नो जीवनको दुःख सुख खोलेका छन् –सम्पादक)

 गाडीलाइनमा कसरी आउनु भयो ?

–१४ वर्षको थिएँ मकवानपुर हेटौंडाको घरबाट निस्केको । साथीहरूसंग गाडीमा घुम्दाघुम्दै गाडी सिकें । त्यसपछि पोखरा गएँ । सेती खोलाबाट बिहान ४ बजेदेखि बालुवा उठाउन थालें । बोराको १० रुपैयाँ दिन्थ्यो । त्यो कमा गरें तीन महिना । अनि गाडीमा काम गर्न थालें । ६ महिना ढोकामा बसें काठमाडौं आएर । त्यसपछि निशान चलाएँ । निशानले बालुवा बोक्दथ्यो टीकाभैरव लेलेबाट । ४ महिनापछि ठूलो गाडी टिपर चलाएँ । अनि लगनखेल लाँकुरीभन्ज्याङ सुपर चलाएँ एक वर्ष । त्यसपछि रिङरोडमा चलाएँ दुई महिना जति । त्यसपछि किस्तामा भनेर महेन्द्रा गाडी लिएँ । डुबें । ५ लाख डुब्यो ।

ओ हो ! कसरी डुब्यो ?

–रहरै रहरमा डुब्यो । आफ्नै लापरवाहीले । साथीभाइको गलत संगत बढी भयो । २ राउन्ड गरेपछि गाडी थन्क्याएर फिल्महल जाने गर्दा बिग्रियो । महिन्द्रा डुबेपछि गाडीलाइन यस्तै हो भनेर २ वर्षजति गाडी नै चलाइन । अनि केटाहरूसंग हिँड्न थालें । पार्किङमा बसें । गाडी छोडेर बस्दा लाहुरेको संगतमा परें । उनीहरू त्यस्तै खालका रै’छन् जाँडरक्सी सबै खाइयो । एकपटक होटलमा जाँड खाएको तालमा एक जनालाई चक्कुले हानियो । केस लाग्यो । अनि जावलाखेल जेलमा ३५ दिन बसें ।

अनि ?

–३५ दिनपछि धरौटीमा छुटियो । ३५ हजार माग्यो । ज्यामी हुँ भन्दा पनि मानेनन् सुब्बाले । कहाँबाट तिर्नु त्यत्रो पैसा । अनि भाते पुर्जा काटेर जेल हाल्यो । सार्वजनिक मुद्दा लागेकाले दुई वर्षका लागि कैदीमा जनायो । जेल हाल्यो ।

कुन जेल बसियो ?

–नख्खु जेल बसें । त्यहाँ भित्र छिरेपछि थाहा भयो कि हामी केही हैन । त्यहाँ इन्जिनियर, पुलिसका ठूला अफिसर र अर्बपति पनि देखें । जेलरले हामीलाई यो जेल हैन पाठशाला हो भन्थ्यो । नभन्दै पाठशाला नै रै’छ । मेरालागि जेल सुधार गृह बन्यो । पकेट खर्च निकाल्नका लागि पाइन्ट सर्टहरू धुन थालें । एउटा पाइन्टको १० र सर्टको ५ रुपैयाँ पाइन्थ्यो । कैदी भत्ता दिनको १५ रुपैयाँ पाइन्थ्यो । अनुशासन कडा थियो । छिसिक्क ग¥यो कि भाटे कार्वाही हुन्थ्यो । त्यहाँ छोरी मारेका मान्छे पनि देखियो ।

के पाठ सिक्नुभयो त ?

–मान्छेले गलत काम गर्न नहुने रहेछ । आफू सजग भए कसैले केही गर्दो रहेनछ भन्ने सिकें ।

जेलबाट निस्केर के गर्नुभयो ?

–सीधै गाउँ गएँ । साथीभाइले नाइट गाडीमा लगाइदिए । अनि दायाँबायाँ नगरी गाडी चलाउन थालें । चेल्सी गाडीमा मैले एक वर्षमा बिदा समेत नलिइँ चलाउँदा ७ लाख २० हजार कमाएको थिएँ ।

बिहे गर्नुभयो ?

–गरें नि, ४ वर्ष भयो । गएको असार ४ गते छोरी जन्मेकी छ ।

विहे मागी कि भागी ?

–लभ परेको नि । भागी भन्नुप¥यो । उसले मलाई पिछा गरेको रहेछ । गुरुजीले फेसबुक चलाउँछ भनेर मेरो हेल्परलाई सोद्धो रहेछ । एक वर्ष फलो गरेको रहेछ । एक दिन भेटेर फोन नम्बर माग्यो । मैले दिएँ । आफूले देखेको तीन दिनमै केही कथा–ब्यथा नबुझी घरमा ल्याएँ ।

पुरानो कुरा थाहा दिनुभएन ?

–बिस्तारै सबै बताएँ । उसको परिवारले स्वीकार्ने कुरै भएन । काठमाडौंको लिंकनमा बीए नर्सिङ तेस्रो वर्षमा पढ्दै गरेको । उसको परिवार एक वर्ष रिसायो । पछि ठीकै हुँदै गयो । जात भने मिल्यो मतवाली नै । उनी राई लिम्बू । अनि मैले गरेका गल्ती सबै भनें । लभ परेको पनि भनें । तर मायाँ गरेर आएपछि उसले छाड्ने कुरा भएन । तर म सुध्रेर आएकाले र पहिले नै गल्ती गरेकाले उसका जतिसुकै तानाबाना पनि सहनु पर्छ । उसको नियममा बस्नुपर्छ । खैनी चुरोट जाँड रक्सी खान नपाउने । मायाँका सबै कुरा मानें ।

कुलत छाड्न सक्नुभयो त ?

–दुई चार पटक शरीर दुखेपछि खाएर गएँ । अनि रामधुलाई हुन्थ्यो । पछि उसले बुझेछ क्यार पिट्दा पनि हार खाए होला अनि आफैले घरमै ल्याइदिन्छ कहिलेकाहिं । राम्रै छ ।

कस्तो छ जीवन ?

–लाइफ ठीकै छ । आफूले २ कक्षामात्र पढियो । छोरीलाई धेरै पढाउने हो । विदेश जाने सोच छ । बुढीलाई अमेरिकाको डिभी परेर पनि गइएन । उसका आफन्त विदेशमा छन् भोलिका दिनमा त्यतै गए जीवन सप्रिएला कि ? यहाँको ड्राइभरको जीवन त राम्रो गरे साथी पाइँदैन । गल्ती गरे खाते भन्छन् ।

(साँघु न्युज)