हिसिलाले आफ्ना पति बाबुरामको नाममा यस्तो लेखेपछि सामाजिक सञ्जालमा भयो भाईरल

काठमाडौं । समाजवादी पार्टीकी नेतृ एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नि हिसिला यमिले सामाजिक सञ्जाल ट्टिवरमा गरेको ट्विट अहिले निकै भाईरल बनेको छ । कतिपयले उनको ट्विटलाई निकै मजाक पनि बनाएका छन् । यमिको ट्विटलाई कतिपयले भने महिला अधिकारसँग जोडेरसमेत हेरेका छन् ।

नेतृ हिसिला यमिले आफ्ना पति बाबुरामको थर ‘यमि’ राखिदिएर ट्विट गरेपछि उनको ट्विट भाईरल बनेको हो । उनले आफ्ना ससुरा भोजप्रसाद भट्टराईको ९० वर्षको जन्मोत्सव कार्यक्रमको सम्झनामा गरेको ट्विटमा आफ्ना पति बाबुराम भट्टराईको थरमा ‘यमि’ पनि थपिदिएकि थिइन् ।

सामाजिक सञ्जालमा उनले गरेको ट्विटलाई निकै मजाक उडाइए पछि बाबुरामले नै रिट्विट गर्दै पतिको थर लेख्ने परम्परा मान्नेलाई चुनौति दिएका छन् । उनले पतिको थरलाई नै पत्निको थर मान्नुपर्ने रितिलाई चुनौति दिंदै पतिको थरमा पत्नीको थर किन जोड्न नमिल्ने भनि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘केहि रुढीवादीले हिसिला जीको नाम पछाडि अनाधिकृत ढंगले पतिको थर जोड्न थालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने ? भन्नु स्वभाविक हो । विवाह गर्दैमा जीन नै परिवर्तन हुन्न, त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन् ।’ भट्टराईले विवाह पछि जन्मने सन्तानमा आमाबाबु दुवैको जीन हुने हुनाले उसको थर संयुक्त हुनुपर्ने तर्क राखेका छन।