आफू हारेर पार्टीलाई जिताऊ, अनि भन म नेता हुँ : जनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

(नेकपा) सचिवालय बैठकअघि ट्वीट गर्दै नेता शर्माले भने, ‘आफू हारेर पार्टीलाई जिताऊ, अनि भन म नेता हुँ ।’ शर्माले नेता बन्न आफैभित्रको इमान नापेर हेर्न समेत शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

‘आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैभित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर । अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए बिधिले जित्ने छ । यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा…’ शर्माले ट्वीट गर्दै नेताहरुलाई खवरदारी गरेका छन्।

यसैगरी अर्का स्थायी समिति सदस्य तथा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले दुवै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका छन्।

उनले पार्टी एकता रक्षाका दुवै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् भनेका छन् । उनले शनिबार सामाजिक संजालमा लेखेका छन्, ‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।’