अफगानिस्तानमा बम विस्फोट, दुई नेपाली सहित १६ जनाको ज्यान गयो

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ ।

सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् ।

विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोल्पाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन ।

उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

यसअघि २०७३ साल असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा १२ जना नेपालीको ज्यान गएको थियो । नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा भएको हमलामा उनीहरुको मृत्यु भएको थियो ।