‘प्रधानमन्त्री ओलीलाई विश्राम दिन’ नेकपालाई गगन थापाको आग्रह

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्रामको आवश्यकता औल्याएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका हुन्।

संविधान बमोजिम देशको कार्यकारिणी प्रमुख पटक–पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्ने उनको भनाइ थियो । प्रत्येक दुई तीन महिनामा दश, बाह्र दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने भन्दै विश्राम लिन र दिन थापाको आग्रह थियो ।

साथै उनले सत्तारुढ दलभित्र प्रधानमन्त्री बनिसकेका र बन्ने इच्छा राख्ने नेताहरुको कमी नभएको र सदनमार्फत नेकपाले चाहेकै व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्थामा मानवीय दृष्टिकोणले पनि विकल्प खोज्न उनले सुझाव दिए ।