तास खेल्नेमात्रै होइन अब हेर्नेलाई समेत जरिवाना

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाले जुवातास खेल्नेमात्रै होइन हेर्नेलाई समेत जरिवाना गर्ने भएको छ। जुवातास तथा घरेलु मदिरा बिक्रीबितरण निरुत्साहित गाउँपालिकाले यस्तो नियम बनाएको हो।

स्थानीय जागरण आमा समूहले तास खेल्ने, तास खेलेको हेर्ने र घरेलुमदिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ। सोही निर्णय कार्यान्वयन गर्ने गरी प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र टोल विकास संस्थाका पदाधिकारीले प्रतिवद्धता जनाएको वडा अध्यक्ष पेमा लामाले जानकारी दिइन् । उनका अनुसार मंगलबारको सर्वपक्षीय बैठकमा निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

जुवातास, जाँडरक्सी र कुरीतिविरुद्ध टोल विकास संस्था र आमा समूहलाई सक्रिय पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिए।