बंगलादेशबाट फर्किएपछि खेलाडीहरु क्वारेन्टिनमा बस्दा प्रशिक्षक भने घरमै

नेपाली राष्ट्रिय फुटबल टिमका २५ खेलाडीको कोरोना भाइरसको पिसिआर परीक्षण नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पिसिआर नेगेटिभ आएका सबै खेलाडीलाई रिलिज गरिएको छ।

खेलाडी तथा अफिसियललाई १५ दिनको छुट्टी दिइएको एन्फाको भनाइ छ। यसअघि गत कात्तिक २८ र मंसिर २ मा बंगालदेशविरुद्ध ढाकामा दुई वटा मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएपछि नेपाली खेलाडीलाई एन्फा होस्टल सातदोबाटोमा क्वारेन्टिनमा राखिएको थियो। होस्टलमा बसेका खेलाडीको सोमबार स्वाब संकलन गरिएको थियो। खेलाडीहरू एन्फा होस्टलको क्वारेन्टिनमा बसे पनि प्रशिक्षक बालगोपाल महर्जन भने त्यहाँ बसेका थिएनन्।

खेलाडीलाई क्वारेन्टिनमा राखेर प्रशिक्षक घरमा बसेपछि कतिपय खेलाडीले असन्तुष्टि जनाएका थिए। यस विषयमा एन्फा पदाधिकारीलाई बुझ्न खोज्दा बोल्न मानेनन्। यसअघि मैत्रीपूर्ण खेलका लागि बंगलादेशमै रहेको बलमा नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनी अहिले पनि ढाकामै छन्। नेपाली टिमका कप्तान किरण चेमजोङ भने ढाकाबाटै आइ लिग खेल्नका लागि भारत गएका थिए। आइ लिग टिम पञ्जाब एफसीमा आबद्ध उनी अहिले क्वारेन्टिनमा बसिरहेका छन्।

अब नेपाली टिमले दुई सातापछि पुन:प्रशिक्षण थाल्ने एन्फाको भनाइ छ। बंगलादेशसँग खेलेका दुई मध्ये एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा छलफल भइरहेको छ। त्यसपछि नेपालले मार्चमा विश्वकप छनोटका खेलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ।