मेस्सीले च्याम्पियन्स लिगमा डाइनामोसँगको खेल खेल्न नपाउने

बार्सिलोनाका कप्तान लियोनल मेस्सी च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले आज (मंगलबार) राति डाइनामो किभविरुद्धको खेल नखेल्ने भएका छन् । मेस्सीले च्याम्पियन्स लिगमा डाइनामोविरुद्धको खेल गुमाउने पक्का भएको हो ।

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीलाई डाइनामोविरुद्ध खेल्ने टिममा समावेश गरेका छैनन् । पछिल्लो समय क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्न नसकेका मेस्सीलाई प्रशिक्षक कोम्यानले यो दोस्रो पटक टिममा नराखेका हुन् ।

बार्सिलोनाले घोषणा गरेको १९ सदस्यीय टिममा मेस्सी छैनन् । बार्सिलोनाका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरि रहेका फ्रान्क डी योङ र जेरार्ड पिके पनि टिममा छैनन् । च्याम्पिन्स लिगमा बार्सिलोनाले पछिल्लो तीन खेलमा जित निकालेको छ । समूह ‘जी’ मा रहेको बार्सिलोना तीन खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।