राजु अधिकारी : सडकबालकदेखि हक्कीको राष्ट्रिय खेलाडीसम्मको यात्रा

नेपालको सबैभन्दा पुरानो खेल मध्ये एक हक्की, जसको नेपालमा नाम छ, चर्चा छैन। तर यही खेलमा लागेर आज एक युवाले नामसँगै चर्चा पनि कमाएका छन्। यो खेलले उनको जीवन नै परिवर्तन भएको छ। वास्तवमा खेलले मानिसको जीवन नै परिवर्तन गर्न सक्छ र परिवर्तन गर्ने शक्ति हक्कीमा पनि छ भन्ने कुरा उनले प्रमाणित पनि गरेका छन्। यो कुरालाई समाजिक संस्था मामाघरमा आश्रय लिएर बसेका राजु अधिकारीले प्रमाणित गरेर देखाएका छन्।

कुनै समय सडकमा बेबारिसे जीवन विताउन बाध्य भएका राजुलाई मामाघरले साहारा दिएपछि आज आफूलाई अब्बल प्रमाणित गरेर देखाएका छन्। यो कथा नेपालको वाग्मती प्रदशेको राजधानी हेटौडाका राजु अधिकारीसहित अन्य तीन युवाहरुको हो। जसको जीवन मामाघरको पालन पोषण र हक्कीप्रतिको माया र लगावको कारणले परिवर्तन भएको छ।

करिब दश वर्षअघि हेटौडाको सडकमा बेबारिसे जीवन बिताइरहेका एउटा सानो बच्चालाई एउटा स्वयमसेवीले उद्दार गरेका थिए र स्वयमसेवीले ती बालकको उचित शिक्षा र भरण पोषणका लागि मामा घरमा पुर्याए। त्यतिखेर मामाघरमा ८ वर्षीय ती सानो बालक एक्लो थिएनन्, उनले मामाघर नेपालमा अरु साथीहरु भेटे जसका कथाहरू पनि उस्तै थियो। त्यहाँ रहेका मध्ये कोही बाबुआमाबाट त्यागिएका थिए, भने कोही अपमानजनक रुपमा घरबाट निकालिएका थिए।

मामाघर शब्दले नेपाली समाजमा विशेष महत्त्व राख्छ। यसको अर्थ आफ्नो घरपछिको दोस्रो महत्वपूर्ण मातृ घर हो। हामी सबै मामाघरमा जान मन पराउछौं किनकी घर पछि सबैभन्दा बढी माया पाउने ठाउ मामाघर नै हो। हाम्रो नेपाली समाजमा आमा पछि मामा भन्ने भनाइ छ किनभने आमा पछि सबैभन्दा बढी माया गर्ने मामा नै हुन्छन्। राजुले नयाँ जिवन पाएको संस्थाको नाम पनि मामाघर नै हो जसले राजु जस्ता धेरै बालबालिकाहरुलाई उद्धार गरेको छ र उनीहरूलाई चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरू प्रदान गर्न निरन्तर काम गरिरहेको छ।

मामाघर नेपाल एक नाफा नकमाउने गैर–सरकारी सामाजिक संस्था हो। जसले सडक बालबालिकाहरुको कल्याणको लागि काम गरिरहेको छ। मामाघरले आपतकालीन उद्धार, परामर्श, उपचार, आवासीय सेवाहरू, औपचारिक शिक्षा, रचनात्मक गतिविधिहरू, र सडक बच्चाहरूको परिवार पुनर्वासको बारेमा काम गर्छ।

राजुलाई १० वर्ष पहिले सडकमा बेबारिसे जीवन बिताइरहेका अवस्थामा एक गैरसरकारी स्वयमसेवकले भेटेका थिए। त्यसबेला राजुलाई थाहा थिएन कि उनी कहाँबाट आएका हुन्, आमा बुबा को हुन्? उनी कति वर्षको हुन् ? सडकमा जीवन बिताइरहेका राजुको सानै उमेरदेखि ग्लू सुँघ्ने (कुलत) बानी थियो। एकदिन उनी हेटौडाको सडकमा भौतारिरहेको अवस्थामा एक स्वयमसेवक आएर उनलाई भोकाएको छ कि भनेर सोधे ।

किनभने उनी राजुका लागि खानेकुरा किन्न चाहान्थे। स्वयमसेवकलाई राजुले आफ्नो कथा सुनाए त्यसपछि उनलाई बाल उद्धार केन्द्रमा लगियो। त्यहाँ उनलाई बस्न, खाना र शिक्षा उपलब्ध गराइयो। कुनै औपचारिक शिक्षा नभएको राजुलाई स्कूल जान त्यती सजिलो थिएन। उनले प्राथमिक विद्यालयबाट आधारभूत शिक्षा सुरू गर्नुपर्यो। उनी विद्यालयमा आफ्ना सहपाठीहरु भन्दा धेरै जेठा थिए। त्यसकारण उनलाई रमाईलो लागेन र उनी अध्ययन गर्न उत्सुक भएनन्।

राजु १० वर्षदेखि मामाघर नेपालमा बस्दै आएका छन्। एकदिन मामाघर नेपालले ती बालकहरूलाई आफुलाई मन परेको बिधा छनौट गर्न आग्रह गर्यो र उनीहरूलाई ती कक्षामा भर्ना गरिदियो। कोहिले नृत्यमा रुची देखाए भने कोहीले फुटबलमा। तर राजुको मन अन्त कतै बरालिरहेको रहेको थियो। उनले केही ठूला युवाहरुलाई हक्की अभ्यासको लागि जाँदै गरेको देखेका थिए, र उनको मन पनि हक्की खेल मै मोडिएको थियो।

उनी हक्की खेल्न नेपाल हक्की एसोसिएसन कार्यकारी समितिका सदस्य तथा प्रशिक्षक मनोज शर्माको सम्पर्कमा पुगे र शर्माकै सहयोगमा उनले आफूलाई हक्कीमा प्रमाणित गर्ने मौका पाए। उनको त्यो प्रयासलाई पुरस्कृत पनि गरियो जब उनी बागमती प्रदेश हक्की टोलीका सदस्य थिए। उनले आफ्नो टोलीको मात्र प्रतिनिधित्व गरेका छैनन् राजुले कप्तानको रूपमा केही प्रतियोगितामा नेतृत्व पनि गरेका छन्।

नेपाल हक्की एसोसिएशनका कार्यकारी सदस्य तथा प्रशिक्षक मनोज शर्मा बागमती प्रदेशको क्षेत्रीय हक्की टोलीलाई पुनर्निर्माण गर्न खेलाडीहरू खोज्ने क्रममा थिए। केही मानिसहरुको सल्लाहमा उनी ६ वर्ष अघि मामाघर नेपालमा पुगे जहाँ केही युवाहरुले नयाँ खेल सिक्न चासो देखाएका थिए। त्यसमध्ये एक थिए राजु अधिकारी। शर्माले अहिले पनि मामाघर नेपाल लगायत हक्की खेल्न उत्सुक युवाहरुलाई प्रशिक्षण दिदै आएका छन्।

हक्कीको एउटा पनि गतिलो पूर्वाधार नभएको नेपालमा उनी राजु, सुशान्त, समीर र सन्तलाल जस्ता खेलाडीहरुलाई प्रशिक्षण दिन पाएकोमा गर्व महसुस गर्दछन्। पूर्व खेलाडी समेत रहेका प्रशिक्षक शर्मा लामो समयदेखि हक्कीका लागि लागिपरेका ब्यक्ति हुन्। कसैले यदि हक्की खेलमा रुची राख्छन र आफूलाई प्रमाणित गर्न चाहन्छन् भने ती युवाहरुलाई प्रशिक्षण दिन पछाडी पर्देनन प्रशिक्षक शर्मा।

उनले नियमित रुपमा युवाहरुलाई विशेष प्रशिक्षण दिनुका साथै हक्की किटहरु पनि निःशुल्क रुपमा प्रदान गर्दै आएका छन्। राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमामा आफूले प्रशिक्षण दिएका खेलाडीहरुले भाग लिएको हेर्न ठूलो चाहना रहेको प्रशिक्षक मनोज बताउछन्।

“मैले मामाघर नेपालबाट प्राप्त गरेको सहयोगका लागि सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। म सम्पूर्णलाई सडकमा रहेका बाल बालिकाहरुलाई सकारात्मक नजरले लिन आग्रह गर्दछु। अवसर पायोभने ती बाल बालिकाहरुले पनि धेरै भन्दा धेरै कुरा प्राप्त गर्न सक्छन्। मैले पाएको अवसरको लागि म कृतज्ञ छु र मैले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा मेरो टीमको प्रतिनिधित्व गर्न सक्षम छु”, राजु भन्छन्।

राजुले आफ्नो क्षेत्रीय टोलीको प्रतिनिधित्व गरेका छन्। उनले प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताका साथै भारतका केही अन्तर्राष्ट्रिय क्लबमा प्रतियोगिताहरु पनि खेलेका छन्। राजु एक प्रतिनिधि मात्र हु। उनी जस्तै मामाघरका अन्य युवाहरुको पनि त्यस्तै कथा छ।

सुशान्त थिंग ९ वर्ष पहिले मामाघर नेपालमा आए जब उनी सात वर्षको थिए। उनलाई पनि हेटौडाको सडकबाट उद्धार गरिएको थियो। १७ वर्षीय सुशान्त हाल कक्षा ९ मा अध्ययन गरिरहेका छन् र उनले भारतको इन्दौरमा आयोजित एशियाई स्कूल गेम्स फेडरेशनमा स्कूल हक्की टीमको प्रतिनिधित्व पनि गरेका छन्।

पेमा रुम्बा (समीर) लामा जब उनी एघार वर्षको थिए उनलाई पनि उद्धार गरी मामाघार लगियो। १९ बर्षीय समीर मामाघरमा ७ बर्षदेखि बसोबास गर्दै आएका छन् र अहिले कक्षा ११ मा अध्ययनरत छन्।

आयुष नुसुर (सन्तलाल) उनलाई पनि सडकबाट उद्धार गरेर मामाघर ल्याईएको थियो जब उनी १३ बर्षका थि । हाल उनी २० बर्षका छन् र कक्षा ७ सम्मको शिक्षा पूरा गरेका छन्।

प्रोत्साहन र परामर्शले गर्दा ती युवाहरु हक्की खेलतर्फ आर्कषित भए जुन खेलको भबिष्य नेपाल मा छ वा छैन अनुमान लगाउन नि गार्हो छ। तर प्रोत्साहन पाएभने हरेक युवाहरु महान् कार्यहरू गर्न सक्षम हुन्छन भन्ने यो एक जीवित प्रमाण हो। र त्यस्ता युवाहरुलाई हक्की खेलमा लगाएर नेपालको राष्ट्रिय खेलाडी बनाउने प्रयासमा प्रशिक्षक मनोज शर्मा लागि रहेका छन्।