विवादित राजदूतलाई परराष्ट्रमन्त्री ज्ञवालीको संरक्षण

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विवादित छविका राजदूतहरुको ‘आचरण सुध्रिएको’ दाबी गर्दै दुई राजदूतको बचाउ गरेका छन्। ज्ञवालीले ओमानका लागि नेपाली राजदूत रहेकी विवादित म्यानपावर व्यावसायी शर्मिला पराजुली ढकालको खुलेर बचाउ गरेका हुन् ।

त्यसैगरी उनले जापानका लागि नेपाली राजदूत प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको सासु प्रतिभा राणाको बचाउ गरेका हुन् । मन्त्री ज्ञवालीले भने, ‘अहिले जति पनि राजदूत हुनुहुन्छ । उहाँहरुमा त्यस्तो कुनै विवाद देखिएको छैन । हामीले यसअघि राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय उहाँहरुको कार्यसम्पादनकै आधारमा गरिएको हो,पूर्वाग्रही ढङ्गबाट फिर्ता बोलाइएको होइन ।’

उनले विवादित राजदूत ढकालको बचाउ गर्दै आफू परराष्ट्रमन्त्री भएर आएको डेढ वर्षको अवधिमा कुनै विवाद नदेखिएको र ढकालले राम्रो काम गरिरहेको दाबी गरे । म्यानपावर व्यावसायीका रुपमा चिनिएकी शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत हुन् ।

उनी कांग्रेसमा समाहित भएको तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको सिफारिमा ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् ।विवादित राजदूत ढकाल म्यानपावर व्यवसायी थिइन् । उनीविरुद्ध परराष्ट्र मन्त्रालय, मलेसिया र युएईस्थित नेपाली दूतावासमा मानव तस्करीमा संलग्नताको उजुरी परेको थियो ।

त्यस्तै, कांग्रेस सभापति देउवाकी सासु प्रतिभा राणा जापानका लागि नेपाली राजदूत हुन् । उनले महँगो तलब सुविधा दिने गरी सहयोगी लगेपछि विवादित बनेकी थिइन्। साथै, दूतावासको खर्च अनियमिततामा पनि उनी तानिएकी थिइन् ।

दरिद्र सोच भएकाहरुले भिडिओ कन्फ्रेन्स बैठकको विरोध गरे

मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडिओ कन्फ्रेन्स मार्फत् मन्त्रिपरिषद् बैठकमा सम्बोधन गरेको विषयमा सुत्रसँगको संवादमा उनले दरिद्र सोच भएकाहरुले यसमा विरोध गरेको आरोप लगाए । उनले भने, ‘आजको युगमा पनि प्रविधिको विरोध गर्ने?, ह्याक नै हने भए त, ट्वीटरको फाउन्डरकै अकाउन्ट ह्याक भयो। जोखिम त संसारमा जहाँ नि हुन्छ । तर, के त्यसो भनेर के प्रविधिको प्रयोग नै नगर्नेरु, प्रविधिको बारेमा यो किसिमको अविश्वास गरेर हामी कहिँ पनि पुग्दैनौँ ।’

त्यस्तै, उनले यस विषयमा हलुका टिप्पणी गर्दै प्रविधिको विरोध गर्नेहरुलाई अब यसको प्रयोग नगर्न आग्रह गर्दै भने, ‘त्यसो भए आजदेखि मोाइल बागमतिमा लगेर सेलाइदिनु होला, टिभी बन्द गर्दिनु होला, राउटर बन्द गर्दिनु होला र उहिलेका बाबुबाजेले झैं ‘ब्याक टू नेचर’ फर्किनु होला ।’

यसअघि प्रधानमन्त्री भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक चलाएको विषय विवादमा परेको छ । भदौ ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले ९ गते सोमबार मत्रिपरिषद् बैठक भिडिओ कन्फेरेन्स मार्फत् उतैबाट चलाएका थिए ।

प्रधानमन्त्रीले विदेशबाट मन्त्रिपरिषद् बैठक चलाएको यो नै पहिलो घटना हो ।

प्रधानमन्त्री ओली सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा पनि भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक बस्न सक्ने निर्णय गरिएको थियो ।

प्रधानमन्त्रीले विदेशी भूमिबाट क्याबिनेट बैठक चलाउँदा एकातिर गलत नजिर स्थापित हुने र अर्कातिर देशको महत्वपूर्ण निर्णय र गोपनियता चुहावट हुने भन्दै आलोचना भइरहेको छ ।

हेर्नुहोस् परराष्ट्रमन्त्री ज्ञवालीसँग सुत्र टिभीका ऋषि थपलियाले गरेको अन्तर्वार्ता: