‘ओलीको साथ छोडे माओवादीको दुर्भाग्य’

केपी ओली कुनै समय एमालेभित्रका अल्पमतको प्रतिनिधित्व गर्ने असन्तुष्ट नेता थिए । उनलाई माधव नेपाल र झलनाथ खनालले ‘ब्राकेट’ हालेर शक्तिमा आउनबाट पटक-पटक रोके । तर, त्यो ब्राकेटलाई तोडेर ओली एमालेको मात्रै नभएर राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइछाडे ।

ओली केन्द्रमा आएपछि नेपाली राजनीतिको रुपरेखा फेरिएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवाव र हस्तक्षेपलाई अटेर गरेर अघि बढ्ने आत्मविश्वास मुलुकले आर्जन गरेको छ । म यसलाई नेपालको वैदेशिक नीतिको ठूलै टर्निङ प्वाइन्ट मान्छु । ओलीले दक्षिण छिमेकीसित टक्कर गरेर उसलाई थर्काउँदै छन् । यो सिंगो देशका लागि सुखद आश्चर्य हो । मैल ओलीबाट यति अपेक्षा गरेको थिइनँ । हाम्रै पालामा कुनै नेताबाट यस्तो होला भन्ने अनुमान गरेको थिइनँ ।

राजा महेन्द्रको शासनकालयता पहिलोपटक यस्तो भएको छ, जहाँ भारतले नचाहेका कुराहरु नेपालमा भइरहेका छन् । ओलीको पर्फमेन्स भनेको राजा महेन्द्रको कार्यकालपछि नेपालको फरेन पोलिसीमा ठूलो टर्निङ प्वाइन्ट हो । महेन्द्र पनि बरु २२ सालपछि भारतसँग थाकेका. थिए ।

संविधान निर्माणमा केपी ओलीको निणर्ायक भूमिका रह्यो, अपितु त्यतिबेला उनी प्रधानमन्त्री बनिसकेका थिएनन् । संविधानमा संघीयता र धर्मनिरपेक्षता जस्ता जनताले नरुचाएका विषयवस्तुहरु थिए, तर त्यसो हुँदा हुँदै पनि संविधान घोषणा हुनु नेपालका लागि धेरै दृष्टिले महत्वपूर्ण थियो । अहिले पछाडि फर्केर हेर्दा के महसुस हुन्छ भने त्यतिबेला संविधान घोषणा नभएको भए नेपालको सार्वभौमिकता माथि नै प्रश्न खडा हुने रहेछ । भारतले नेपालको संविधान कहिले पनि बन्न नदिने रहेछ भन्ने अहिले बुझिदैछ ।

संविधानमा भारतको अरु कारणले असन्तुष्टी हो भन्ने मलाई लाग्दैन । भारतलाई नसोधि जून १६ बुँदे यहाँका दलहरुले गरे, असन्तुष्टिको चुरो त्यही नै हो । सिमांकन, समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता मुद्दाहरु देखाउने दाँत हुन् । १६ बुँदेले भारतको अहम्मा धक्का लागेको छ । त्यसको प्रतिशोध खोज्दै जाँदा उ फस्दै गएको हो ।

महेन्द्रपछि ओलीको आत्मबल

ओलीको खास पृष्ठभूमि कस्तो हो म भन्न सक्दिन । उनी विगतमा भारतसँग नजिक थिए भन्ने आरोप लाग्छन् । त्यसै आरोप लागेन होला । हावा नआइकन पात हल्लिदैन । तर, जसले पनि आफूलाई सच्याउन पाउँछ । ओलीले पनि सच्याएका छन् । देशप्रतिको कर्तव्यवोध गरेका छन् ।

नेपाललाई सार्वभौमसत्ताविहिन बनाउने भारतीय योजना ओलीले तुहाएकै हो । त्यसैले इन्डियासँगको सम्वन्ध अहिले कम्प्लेक्स मोडमा पुगेको छ । भारतलाई यसरी हल्लाउने ओलीले लिएको अभिव्यक्तिलाई कुनै पनि सचेत नागरिकले उखान टुक्का भनेर उडाउन मिल्दैन ।

तनावपूर्ण राजनीतिका बीच ओली अहिलेसम्म अडिएको भनेको आफ्नो आत्मबलले गर्दा नै हो । उनको आयू लम्ब्याउने मुख्य औषधि नै आत्मबल हो । यस्तो आत्मबल धेरै ठूलो कालखण्डमा आउँछ । विगतमा यस्तो आत्मबल महेन्द्रमा देखिएको थियो । महेन्द्र स्कुल कलेजमा पढेका होइन् । घरेलु शिक्षा प्राप्त हुन् । उनीसँग पैसा थिएन, सोहोरेर सबै राणाले लगेका थिए । अर्काले छोडेको सिस्टममा हात हाल्नुपरेको थियो । को आफ्ना हुन् र को होइनन् थाहा थिएन । नजिकको छिमेको सहयोगी थिएन । अर्को छिमेकीसँग दुरी थियो । त्यो महासंकटमा प्रकृतिले दिएको ‘सिक्स्थ सेन्स’ र भगवानले दिएको आत्मविश्वासलाई फ्यूजन गरेर बनेको मनोबल महेन्द्रमा थियो । त्यो अद्भुत थियो ।

महेन्द्रभन्दा अघि जंगबहादुरको मनोबल थियो । आफू सात जना दाजुभाई मिलेर कोतमा भएका सबै मान्छे काट्छु भन्नु कम ठूलो कुरा होइन । ६२/६३ मान्छे कोट्दा आफ्नो परिवारको पनि ज्यानको सवाल थियो । आफूले पो हतियार लुकाएको छ त, अर्कोले पनि लुकाएको थियो भने के हुन्थ्यो ?

कि पृथ्वीनारायण शाहको थियो मनोबल । चार सय मान्छे लिएर किर्तिपुरमा आक्रमण गर्न आएका हुन् । जबकि किर्तिपुरको जनसंख्या ६ हजार थियो । आफू फेदमा बसेर लड्नु भनेको दुस्साहस हो । माथिबाट ढुंगै गुडाए पनि पुग्छ । त्यसै भएको होइन त्यो ।

ओलीका दुर्गुण पनि छन् । उनी अझै पनि एउटा सानो घेरोभित्र कैद छन् जस्तो बुझिन्छ । धेरै मान्छेसँग आइडिया सेयर गर्दैनन् र अरुका कुरालाई महत्व दिँदैनन् । मैले सुनेअनुसार ओलीले नेपालमा बाबुराम आचार्य बाहेक अरु कसैलाई मान्छे नै गनेका छैनन् । उनको यो अज्ञानताभन्दा पनि अहम् हो । तर अहम् भनेको काहिलेकाहीँ शक्ति पनि भइदिन्छ । महादेवले विष पिउनु पनि अहम् थियो । त्यो आत्मविश्वासले पिएको हो । हेरौं ओलीको अहम्ले के-कति काम गर्छ ।

(कुराकानीमा आधारित)