प्रहरीको तीनघण्टे अपरेसन जसले नेपाली बैंकको अर्बौं रकम जोगायो

काठमाडौं । शनिबार साँझ चार बजे कार्यालयमै थिए महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी । त्यत्तिकैमा एक बैंकरले उनको अफिसियल मोबाइल नम्बरमा टेलिफोन गरे । ती बैंकरको स्वर हतास सुनिन्थ्यो । उनले दरबारमार्गमा रहेको आफ्नो बैंकको एटिएमबाट अस्वाभाविक रुपमा रकम निकालिएको र त्यो ह्याक भएको हुन सक्ने शंका व्यक्त गरे । एसएसपी सुवेदीले यो शंका होइन, लंकै जलाउने खेल हो भन्ठानेर तत्काल परिसरको एक टोली दरबारमार्गमा पठाए । रकम कसरी झिकियो, पत्ता लगाउन सहज थिएन ।

परिसरसहित महानगरीय प्रहरी वृत्त दरबारमार्ग, कमलपोखरी र सोह्रखुट्टेबाट पनि एउटा टिम परिचालित गर्न एसएसपी सुवेदीले निर्देशन दिए । सुवेदी कार्यालयमै बसेर निर्देशन दिन थाले भने टोलीले फिल्डमा रहेर काम गर्न थाल्यो । त्यसका लागि विभिन्न क्षेत्रलाई निगरानीमा राखियो ।एटिएम बुथ ह्याक भएको हो कि भन्ने बैंकरले सूचनामात्र दिएनन्, आवश्यक सहयोग पनि गरे । शनिबारको दिन प्रायजसो बैंक बन्द रहन्छन् । प्रहरीलाई चिनियाँ ह्याकरको समूहले बुथबाट रकम निकालेको हुनसक्ने आशंका बढ्यो । चिनियाँ नागरिक हुँदा प्रहरीलाई भाषाको ठूलो समस्या थियो । कोही पक्राउ परिहाले पनि अनुसन्धान कसरी गर्ने ? विदेशी नागरिकलाई त्यसै नियन्त्रणमा लिने कुरा पनि भएन ।

एसएसपी सुवेदीले पर्यटक प्रहरीको सहयोग मागे । पर्यटक प्रहरीले होटल र्‍याडिसनमा काम गर्ने एकजना दोभाषे बन्दोबस्त गरिदियो । प्रहरीको सक्रियता बढेको थियो । बैंकरहरुको चिन्ता पनि बढ्दै थियो । दुई घण्टा बितिसकेको थियो । त्यही क्रममा मंगोलियन अनुहारका केही व्यक्तिको गतिविधि एटिएम बुथ वरपर शंकास्पद देखिएको सूचना प्राप्त भयो । प्रहरी टोलीले दरबारमार्ग आसपासका एटिएम बुथमा निगरानी सुरु गर्यो । त्यही क्रममा दरबारमार्गमै रहेको नबिल बैंकको एटिएम बुथमा पैसा भिक्दै गरेका एक चिनियाँ नागरिक भेटिए । प्रहरीले उनलाई सोधपुछसँगै शरीर चेकजाँच गर्ने क्रममा २० थान नक्कली भिषा कार्ड फेला पार्यो ।