निजी ल्याबको धन्दा : स्वाब संकलन र परीक्षण नै नगरी पीसीआर रिपोर्ट

नेपालमा निजी प्रयोगशालाहरुले गर्दै आएको पीसीआर परीक्षणको विश्वासनीयतामाथि केही महिना अघिदेखि नै प्रश्न उठ्न थालेको थियो । एकै व्यक्तिको एकै दिन वा एक दिनको फरकमा पीसीआर परीक्षण गर्दा फरक–फरक रिपोर्ट आउने गरेका घटनाहरु बाहिर आएका थिए ।

कोभिडको लक्षण देखिएर तथा विदेश जानका लागि पीसीआर परीक्षण गर्दा निजी प्रयोगशालाहरुले फरक–फरक रिपाोर्ट निकालेको समाचार हेल्पाटीले लेखिसकेको छ ।

यसैबीच अहिले निजी प्रयोगशालाहरुका केही हर्कतहरु बाहिरिएका छन् । विदेश उड्नका लागि एयरलाइन्सहरुले पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । काठमाडौं उपत्यकाका केही निजी प्रगोगशालाहरुले स्वाब नै संकलन नगरी र स्वाब संकलन गरेपनि परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट बनाइदिने गरेको रहस्य बाहिर आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई छानबिनका लागि भन्दै लेखेको पत्र बाहिरिएको छ ।

पर्यटन मन्त्रालयको पत्र अनुसार उपत्यकाका विभिन्न निजी प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ।

नेपाल एयरलाइन्सको उडानमा सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेका पीसीआर रिपोर्ट लिएर विदेश गएका थुप्रै यात्रुमा उहाँ पुग्नेवित्तिकै गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जानकारी पत्रमा दिइएको छ । जस अनुसार पत्र अनुसार अक्टुबर २ मा हङकङ गएका ५ जनामा उता परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको थियो । त्यसैगरी हङकङमै अक्टुबर १९ मा गएका ९ जनामा पनि पोजेटिभ रिपोर्ट देखिएको थियो ।

यसै कारण हङकङको नागरिक उड्यनन विभागले पटक–पटक नेपाल एयरलाइन्सको उडान रद्द गर्दै आएको मन्त्रालयको पत्रमा भनिएको छ । दुबईको उडानमा पनि यस्तै केस देखिएर यूएईको नागरिक उड्यन विभागबाट पनि ध्यानाकर्षण गराइएको थियो ।
नेपाल एयरलाइन्सको काठमाडौं–नारिता(जापान) को प्रत्येक उडानमा जाने २ देखि १० जनासम्म यात्रुमा उता परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

नेगेटिभ रिपोर्ट बोकेर विदेश गएका र पुग्नेबित्तिकै परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिनेहरू

यस्ता घटनालाई न्यूनिकरण गर्न तत्का छानबिन अगाडी बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ ।

पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको जस्ता विषयमा छानबिन गर्न भनिएको छ ।

यसरी गलत रिपोर्ट दिनेमा निजी प्रयोगशालामा बल्खुस्थित स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलस्थित डिकोल्ड ल्याब, कमलपोखरीको सीडीएल ल्याब, सूर्य हेल्थ केयर लाजिम्पाट रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख छ ।
कात्तिक २८ गते यूएई जाने १६५ जनाको रिपोर्ट स्टार, सीडीएल र डिकोल्डको मिलेमतोमा गलत रिपोर्ट दिँदा दुबई पुगेपछि २२ जनाको पोजेटिभ आएको थियो।

छानबिन गर्न समिति

पर्यटन मन्त्रालयको पत्र पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको नतिजामा देखिएको गडबडी बारे जाँचबुझ गर्न समिति गठन गरेको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. मुकुन्दा गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रयोगशाला विज्ञ बलराम गौतम सदस्य हुनुहुन्छ ।

समितिलाई २४ घण्टा भित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रवक्ता गौतमले बताउनु भयो ।