१५ लाख रुपैयाँसहित ६५ जना जु’वाडे प’क्राउ

जिल्ला प्रहरी कार्यालय दाङले दसैं र तिहारको बीचमा जुवा अप्रेसन गरी दस स्थानबाट ६५ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट १५ लाख १८ हजार २२० रुपैयाँ नगद बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्का अनुसार असोज ५ गतेदेखि मंसिर ३ गतेसम्म ६५ जना पक्राउ परेका हुन् । जसमा तुलसीपुर–६ चार जनासहित २० हजार ५५ रुपैयाँ र सोही वडामा असोज ११ गते १३ जना सहित ९८ हजार ९५० रुपैयाँ बरामद गरिएको खड्काले जानकारी दिए । असोज २९ गते तुलसीपुर–१ बाट ५ जना सहित २४ हजार ३६५ रुपैयाँ बरामद गरिएको उनको भनाइ छ ।

त्यस्तै बबई गाउँपालिका ३ असोज १८ गते ८ जना सहित २ लाख ६१ हजार ९९० रुपैयाँ र राप्ती गाउँपालिका ८ सिसनियामा ११ जना सहित २ लाख ६० हजार १२५ रुपैयाँ, त्यस्तै असोज २६ गते घोराही–१४ मा ३ जना सहित ७० हजार ४३५ रुपैयाँ बरामद गरिएको खड्काले जानकारी दिए । जुन यो वर्षकै ठूलो धनराशिको खेल रहेको छ ।

त्यस्तै कात्तिक २ गते घोराही १५ मा ५ जना सहित १ लाख २७ हजार ९९० रुपैयाँ, कात्तिक १२ गते घोराही १० मा ४ जना सहित ६२ हजार ९३५ रुपैयाँ बरामद गरिएको हो । त्यस्तै कात्तिक १६ गते घोराही १८ मा ५ जना सहित ३ लाख २३ हजार ६० रुपैयाँ बरामद गरिएको जनाएको छ । मंसिर ३ गते घोराही १६ बाट ७ जना जुवाडे सहित २ लाख ६८ हजार ३१५ रुपैयाँ बरामद गरिएको छ ।

चाडपर्वका नाममा जथाभावी जुवातास खेल्ने धनराशिको समेत हानी नोक्सानी हुने भएकाले दाङ प्रहरीले जुवा अपराध निरुत्साहित गर्न सञ्चालन गरेको जुवा अप्रेशनमा ६५ जना पक्राउ परेको हुन् । पक्राउ परेका मध्ये १२ जनामाथि अनुसन्धान भइरहेको छ । ५३ जनालाई कानुनी कारबाही भइसकेको जनाएको छ ।