‘बुवा बितेर जानुभयो, उहाँले रोपेका सुन्तलाले अहिले पनि घरखर्च चलिरहेको छ’

उत्तम रानामगर ५६ वर्षका भए। उनी १० वर्षको हुँदा बुवा नरबहादुरले बारीमा सुन्तला सारेको सम्झिन्छन्। सुन्तला पनि उनीसँगै हुर्किए।

उत्तमका बुवा बितेको पनि १७ वर्ष भयो। बुवा बितेर गए पनि बुवाले छोडेर गएका बारीमा सुन्तला वर्षेनी फल्छन्। यिनै सुन्तलाले उत्तमको जिन्दगी टरिरहेको छ।

उनी १० वर्षका हुँदा लगाएका सुन्तलाले उत्पादन दिन थालेकै ४० वर्ष भइसक्यो।

चितवनको इच्छाकामना गाउँपालिका-२ तल्लो काउलेका उत्तमले बावुले सुरू गरेको सुन्तला उत्पादनलाई थप व्यवसायिक बनाए।

‘बुवा बित्नुअघि ५० वटा बोट थिए अहिले ३०० बोट पुगेको छ,’ उनले भने, ‘बुवाले सुरूआत गरेको खेतीमा अहिले मेरा छोराछोरीले पनि साथ दिइरहेका छन्।’

२०६० साल अघि उत्पादन दिन थालेका बोटहरूलाई उत्तम पुराना बोट भन्छन्। ती पुराना बोटहरूमध्ये पनि आधाजसोले उत्पादन दिन थालेको करिब ४० वर्ष भयो।

‘अहिले पनि एउटै बोटमा तीन क्विन्टलसम्म सुन्तला फल्छ, केही वर्षअघिसम्म त ५ क्विन्टल नै फल्थे,’ उनले भने।

बावुले लगाएका बोटमा फलेका सुन्तला बेचेरै उत्तमले छोराछोरीलाई सहरमा पढ्न पठाए, घरव्यवहार अझै चलाइरहेकै छन्।

‘अहिले त छोराछोरीले पनि सघाउन थालेका छन्।’

बारी गोड्नेदेखि बिक्रीका लागि बजार पुर्‍याउनेसम्मका काममा छोराछोरीले सहयोग गर्ने गरेको उत्तम बताउँछन्।

पुराना बोटमा उत्पादन घट्न थालेपछि उनले नयाँ बिरूवाहरू थप्न थालेका छन्।

उनले सुन्तलाको बीचमा किबी र बारीको छेउमा अलैंची खेती पनि सुरू गरेका छन्।

‘सुन्तलालाई थप व्यवसायिक बनाउँदै किबी, अलैंची र बेमौसमी तरकारीको खेती विस्तार गरेको छु’, उनले भने, ‘वर्षमा ४/५ लाख आम्दानी हुने गरेको छ।’

सामान्यत: सुन्तलाको बिरूवाले रोपेको पाँच वर्षमा उत्पादन दिन थाल्छन्। उत्पादनको परिमाण यसलाई गरिने स्याहारमा भर पर्ने उत्तमको भनाइ छ। बोटको आयु पनि वातावरण, मल, पानी, स्याहारमै भरपर्छ।

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको काउले, तामिन, दारेचोक, डोडे, ढापलगायतका क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र हुन्। इच्छाकामना मन्दिरको फेदीमा रहेका खेतबारीमा अहिले सुन्तला लटरम्म छन्।

यी ठाउँमा पुग्न पृथ्वी राजमार्गको फिस्लिङबाट उकालो लाग्नुपर्छ। ती क्षेत्रमा एक सय विघाभन्दा बढी क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ।

राम्रो स्यहार पुगेका ठाउँमा ६० वर्षसम्म पनि राम्रो उत्पादन भइरहेको छ भने कम स्याहार हुँदा २० वर्ष नपुग्दै बोट मर्ने अवस्था पनि देखिएको छ।

इच्छाकमना-३ स्थित ढापका ७० वर्षीय बमबहादुर गुरूङको बारीमा ५० वर्ष पुराना बोटले पनि उत्पादन दिइरहेका छन्।

उनको परिवारले सुन्तला बेचेरै वार्षिक २० लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको छ।

‘अर्ग्यानिक मलको प्रयोग, राम्रो स्याहार पाएका कारण पुराना बोटहरूले पनि राम्रो उत्पादन दिइरहेका छन्,’ बमबहादुरले भने, ‘यहाँको वातावरण नै सुन्तलाका लागि अनुकूल छ।’

सुन्तला राम्रो फल्ने डोडे गाउँका अम्बर गुरूङका एक सय बोटबाट ५ लाख रूपैयाँ आम्दानी हुन्छ।

२०३५ सालमा उनका बुवा/बाजेले रोपेका सुन्तला बिस्तारै बुढा हुँदैछन् उनलाई अहिले नयाँ बिरूवा हुर्काउने चटारो छ।

‘१०० बोट नयाँ रोपेको छु, साथमा सिमी, बोडी लगाउँछु। परिवार यसैबाट चल्छ,’ २४ वर्षीय अम्बर भन्छन्।

दारेचोकमा सुन्तला खेती गर्दै आएका लोकबहादुर गुरूङकाअनुसार यस क्षेत्रमा अधिकांशको मुख्य आयश्रोत नै सुन्तला हो।

उनीहरूले फलाएका सुन्तला किन्न ग्राहक बारीमै आइपुग्छन्। कतिपयको त दाना लाग्दैबाट बिक्रीको सम्झौता हुने गरेको छ।

‘गाउँमै गाडी आउने भएकाले बजार लैजान सहज छ,’ सुन्तला रोपेकी देउमाया गुरूङ भन्छिन्, ‘मूल्य पनि राम्रै पाएका छौं।’

केही वर्ष अघिसम्म सुन्तला उत्पादनका लागि चर्चित गाउँ तामिनमा भने अहिले उत्पादन ह्वात्तै घटेको छ। २० वर्ष पनि नपुग्दै सुन्तलाका बोटले उत्पादन दिन छाडेका छन्।

४० विघा जमिनमा सुन्तला लगाइएकोमा अहिले करिब ४ विघामा मात्रै उत्पादन भएको अगुवा किसान रामप्रसाद बोहोरा बताउँछन्।

‘किसानहरू स्याहारमा भन्दा उत्पादन लिने र बिक्री गर्नेमा मात्रै केन्द्रित हुँदा बोटहरूले फल दिनै छाडे,’ उनले भने।

अघिल्ला वर्ष यस गाउँले सुन्तलामात्र बेचेर २ करोड रुपैयाँसम्म आम्दानी लिन गर्दथ्यो। बोहोराले त स्तरीय सुन्तला उत्पादन, बगैंचा सरसफाइलगायतमा उत्कृष्ट भनेर प्रदेश सरकारबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार नै पाएका थिए।

‘सुन्तलाको बोट छिट्टै मर्न थालेपछि भने किसानहरू चिन्ता गर्न थालेका छन्। स्याहार गर्नुपर्छ भन्ने जान्न थालेका छन्,’ बोहोराले भने, ‘अहिले पुराना बोटहरू उखेलेर नयाँ बिरुवा रोप्ने काम भइरहेको छ।’

इच्छाकामनाको सुन्तला मंसिरको अन्तिम साताबाट बजारमा पुग्छन्। किसानले सुन्तलाबाट प्रतिकिलो ६० देखि १०० रुपैयाँसम्म पाउने गरेका छन्।