के यहि हो त हामीले सदियौंदेखि मनाइँदै आएको तीजको महत्व ?

तीज आउनु महिनौं अघिदेखि देशभर जताततै तीजको रौनक बढ्छ। महिला दिदीबहिनीहरु तीजको दर खाने बहानामा दिन दिनै भोज भतेरमा व्यस्त हुन्छन्। हिजोका दिनमा तीजको रहर आयो बरिलै…. भनेर रातो सारी चोलो अनि रातै चुरामा सजिने दिदी, बहिनी र भाउजुहरु आज झनमाथि सार्योे झन तल झर्ने हाइ मेरो फरिया… भन्दै मिनिस्कटमा उफ्रंदै छन्। माइतीघरको खीर र पुलाउमाभन्दा पनि ‘फाइभ स्टार’को मासु र रक्सीमा झुमिरहेका छन्।

यो सब देखेर आम मानिसले भने तीजको नाममा विकृति बढाइएको आरोप लगाइरहेका छन्। वास्तवमा यसरी मौलिकतालाई चटक्क बिर्से पश्चिमा शैलीमा तीज मनाइनुले आम मानिसकोे मनमा चिसो पस्नु स्वाभाविक नै हो। आखिर कता जाँदैछ हाम्रो समाज र संस्कृति ? यति मात्र हो ?

तीजमा भोड्का खाइन्छ, लुते बिरालो भन्ने समेत बोलका गीतहरु जताततै घन्किरहेका छन्। के यहि हो त हामीले सदियौंदेखि मनाइँदै आएको तीजको महत्व ? यसबाट के प्रश्न पनि अगाडि आएको छ भने आउँदो पुस्ताले कसरी बुझ्लान यस्ता चाडपर्वलाई ?

तीज माइती र चेलीको प्रगाढ सम्बन्ध बनाउने एउटा पवित्र पर्व हो– तीज। हिजो आज तीज मनाउने शैलीमा परिवर्तन हुँदै यसको मौलिकतामा दिनानुदिन ह्रास हुँदै आएको छ। सदियौंदेखि मनाउँदै आएको यस पर्वको मुल मर्म र महत्वलाई बिर्सेर भड्किदो शैलीमा तीज मनाइनुलाई तीजको विकृतिको रुपमा लिन सकिन्छ।

यसले नेपाली समाजका रितीतिथी एवम चाडपर्वको महत्वमा ह्रास ल्याइरहेको छ। जसले गर्दा भोलिका पुस्ताले यी चाडपर्वको वास्तविक महत्व थाहा नपाउन सक्छन्। पूरातन युगमा केही कुसंस्कार र कुरितीहरु प्रचलनमा आउनु केही नौलो हैन किनकी त्यति खेरका मानिसको चेतनाको स्तर अहिलेको जस्तो थिएन।

ज्ञानको कमीले गर्दा त्यस्ता कुसंस्कार कुरिती भित्रिनुलाई अन्यथा लिन सकिन्न। तर, हिजोआज एक्काइसौं शताब्दिमा आइसक्दा पनि कुसंस्कार र कुरिती बढ्दै जानुलाई चाँहि आधुनिकताको नाममा बढ्दो विकृती बाहेक केही भन्न सकिन्न

यहि आधुनिकताको नाममा बढ्दो सामाजिक विकृतीको ज्वलन्त उदाहरण बनेको छ महिलाहरुले मनाउने गरेको तीज। हिजो आज महिनौं दिन अगाडिदेखि नै तीज मनाउने गरिन्छ। महिलाहरुमा महिनौं अघिदेखि दर खाएर हिंड्ने र संस्कृतिको गलत तरिकाले मनाउने प्रचलन दिनानुदिन बढ्दो छ।

तीज पर्वको मौलिकतालाई भुली हिजोआज तीज पर्वको रौनकता सामान्य पिकनीकदेखि फाइभस्टार होटलको ककटेल डिनरसम्म छाएको देख्न सकिन्छ। हुनत चाडपर्व नयाँ नयाँ तरिकाले मनाउनुलाई अन्यथा लिनु हुन्न तर पनि त्यसले हाम्रो सामाजिक जीवनमा के कस्तो असर परिरहेको छ भन्ने कुरामा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ।

एक महिना अगाडिदेखि दर खाने संस्कृतीको अवलम्वन गर्ने महिलाहरुले एक महिना अघिदेखि नै एक छाक मात्र खाएर व्रत वस्ने चलन ल्याए एक महिना खाने अन्न जोगिन्छ। त्यो अन्नले खान नपाउने भोका व्यक्तिहरुको भरणपोषणमा सघाउ पुग्थ्यो कि ?

दुःख सुख जे भएपनि माइतीको चुलोमा पाकेको खीर भन्दा फाइभ स्टार होटेल र पार्टी प्यालेसको पुलाउ र मासु अनि रक्सी नै प्यारो भएको छ। नेपाली चाडपर्वहरु सामाजिक सम्वन्धका, सामाजिक उतदायित्वका हिसावले धेरै महत्वपूर्ण मानिदै आएका छन्।

तसर्थ ती रितिरिवाज मान्दा सामाजिक सम्बन्धमा असर पारेको छ कि छैन भन्ने कुरा पनि भुल्नु हुन्न।चाडपर्व मान्ने क्रममा खोक्रो आडम्वर र खर्चिलो व्यवहारले गर्दा समाजका मानिसहरुमा जिवन धान्न अप्ठेरो परेको त छैन ? कतै देखासेकीले गर्दा समाजको मानिसका जिवन अप्ठेरोमा परेको त छैन ?

कतै चाडपर्व मान्ने शिलशिलामा मानिसले आफ्ना आधारभुत आवश्यकताबाट बञ्चित हुन परेको त छैन ? यी सब कुरामा ध्यान दिन आवश्यक देखिन्छ। तीजकै कुरा गर्ने हो भने वर्षदिन भरि आफ्ना दुःख व्यक्त गर्न माइती गएर दर खाएर त्यसको भोलिपल्ट व्रत बसी आपसी सम्वन्ध र माया ममता राखि मनाउने चेलीहरु आज माइती मावलीभन्दा पनि रमझममा बढी रमाएका छन्।

आफ्ना विरहका शव्दहरु गीतका भाकामा गाउने परम्परामा आज ‘झन माथि सार्यो झन तल झर्छ हाइ मेरो फरिया’…… भन्दै रम्न थालेका छन्। आफ्नो मौलिक लोक संस्कृतिलाई हेला गर्दै पप र -यापमा झुलिरहेका छन्। तीजमा पानीसम्म पनि नखाइ व्रत बस्ते महिलाहरु अहिले ह्वीस्की र रममा लट्ठ पर्ने गरेका समेत घटनाहरु पनि धेरै पाइन्छन्।

हुने खानेको त बेग्लै कुरा गरिब परिवारमा घरमा छोराछोरिलाई स्कुल जाने व्याग किनिदिन सकेको हुन्नन्। तर महिनौं दिनसम्म तीजका कार्यक्रममा दरखान हिंड्ने पैसा सजिलै निकाल्न थालेका छन् नेपाली महिलाहरु।

उत्पादमुलक समयलाइ खेर फालेर महिनौ दिन विभिन्न समुहमा ठूलो मात्रामा धनराशी खर्च गरेर तीज मनाउने चलन नेपाली समाजमा बढ्दो छ। समाजका सम्भ्रान्त वर्ग र हुनेखाने वर्गको सिको गर्दै गरिव र मध्यम वर्गका महिलाले समेत तडकभडका साथ तीज मनाइरहेको पाउन सकिन्छ।

वास्तवमा यसलाइ चांहि सामाजिक विकृती बाहेक के नै भन्न सकिन्छ र १ यसबाट न्यून आय वर्गका महिलाहरुमा नराम्रो असर पर्ने देखिन्छ। वर्ष दिनभरी आ–आफ्ना काममा व्यस्त चेलीहरु जब तीज मान्न माइत जान्छन् तब माइतीको आँगनीमा बसी विरहका गीतहरु गाउछन्।

तिनका विरहका गीतमा सबै चेलिका व्यथा हुन्छन।‘तीजको रहर आयो वरिलै…..’ भन्दै आफ्नै नेपाली पहिचान जनाउने रातो साडी र चोलो लगाएर गाउ नै राताम्य हुने गरी जम्मा हुने चेलीहरु हिजो आज त मिनीस्कर्ट र टिसर्टमा ह्वीस्कीको च्वीस्कीसंगै झुमिरहेका छन्। त्यो पनि लोकगीतको भाकासंगै हैन अंग्रेजी र हिन्दी गीतमा।के स्वतन्त्रताको अर्थ यही हो त ? पौडेल स्वतन्त्र पत्रकार हुन।