
हिन्दु नेपालीहरुको दोस्रो महानचाड तिहारमा एक मुस्लिम महिलाले हिन्दु धर्मावलम्बी पुरुषलाई भाइटीका लगाइदिएकी छन् । नातामा उनीहरुले एकअर्कालाई दिदीभाई मानेका छन् । सोही नाताकै कारण मुस्लिम दिदीले हिन्दु भाईलाई भाइटीका लगाई दिएकी हुन् । बाँकेको नेपालगञ्ज उपमहागरपालिका वडा नम्बर २ घरबारी टोल निवासी कस्मीरा खातुनले हिन्दु धर्म मान्ने भाईलाई तिहारको भाईटीका लगाइदिएर धार्मिक सहिष्णुताको अनुपम उदाहरण पेश गरेकी हुन।
यस पटकको तिहारमा कस्मीरा खातुनसंग टिका थाप्ने भाग्यमानी भाइ हुन, डोटी घर भै हाल बाँकेमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक यादव महरा । महरा हाल प्रहरी तालिमकेन्द्र, नेपालगञ्जमा कार्यरत छन । बाँके जिल्लामा सफल उद्यमीका रुपमा स्थापित खातुनका अनुसार शुरुमा भाई महरालाई मात्रै टीका लगाइदिने निर्णय गरेकी थिइन । तर उनका श्रीमान समसुद्धिन मियाँको सल्लाहमा आफुले पनि भाइ महराको हाताबट टीका लगाइन।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उद्योग संघ बाँकेको संयोजक र मुस्लिम संगठन नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी खातुनले प्रस्तुत गरेको धार्मिक सहिष्णुताको यो नमुनाबाट मुस्लिम समुदायले पनि तारिफ गरेका छन । खातुनका अनुसार यो कदमलाई आफ्नै समुदायका ८० प्रतिशतले सकारात्मक मानेका छन भने बाँकीले नकारात्मक टिप्पणी पनि गरेका छन।