बिग बास लिगमा सन्दीपले खेल्ने टोलीबारे आज टुंगो लाग्न‍े

अस्ट्रेलियाको व्यावसायीक क्रिकेट प्रतियोगिता बिग बास लिग-बीबीएलमा नेपालका सन्दीप लामिछाने यो सिजन खेल्ने टोलीबारे सोमबार (आज) टुंगो लाग्ने भएको छ।

सन्दीपका सहयोगी रमन सिवाकोटीका अनुसार सन्दीपलाई आबद्ध गर्न चार टोली लालयित छन्। बीबीएलको यो सिजन डीसेम्बर १० देखि सुरु हुँदैछ। प्रतियोगिता सुरु हुनु २५ दिन मात्र बाँकी रहँदा सन्दीपले खेल्ने टोलीबारे टुंगो लागेको छैन।

इन्डियन प्रिमियर लिग-आईपीएलको यो सिजन एउटै खेल पनि खेल्न नपाएपछि २० वर्षीय सन्दीपको व्यावसायीक करियरबारे अनेक अड्कलबाजी भइरहेका छन्। स्रोतका अनुसार सन्दीपले भर्खरै सम्पन्न आईपीएलका केही खेलमा खेल्ने अवसर पाएका भए उनी बिग बासको यो सिजन नखेल्ने मुडमा थिए।

तर आईपीएलमा खेल्न नपाएपछि सन्दीपलाई बीबीएलमा जसरी पनि स्थान बनाउनुपर्ने दबाब बढेको बताइन्छ। क्यारेबियन प्रिमियर लिग-सीपीएल क्रिकेट र आईपीएलमा सहभागी हुने क्रममा करिब चार महिनाको विदेश बसाईपछि सन्दीप भर्खरै स्वदेश फर्किएका हुन्।

स्रोतका अनुसार सन्दीप परिवारसँग केही समय बिताएर मात्र बीबीएलमा सहभागी हुन चाहन्छन् जसले गर्दा प्रतियोगितामा सुरुका केही खेलमा सन्दीप अनुपस्थित हुन सक्छन्। प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई अस्ट्रेलिया पुगेपछि १५ दिन क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ।