‘संक्रमितहरु खुलेआम बजारमा, कसरी नियन्त्रण हुन्छ कोरोना ?’

नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या पहिलाको तुलनामा घटिरहेको देखिन्छ । दिनको ५ हजारसम्म संक्रमित थपिएकोमा अहिले दैनिक २ देखि ३ हजार ५ सयसम्म थपिएका छन् ।

यसो त पीसीआर परीक्षणमा पनि कमी आएको छ । एकताका नेपालमा दिनको १८ देखि २० हजारसम्म पीसीआर परीक्षण हुन्थ्यो तर अहिले पीसीआर परीक्षणको दायरा पनि घटेको छ ।

सुरक्षाका मापदण्ड अपनाएर घरमा नै बस्दा सुरक्षित होइन्छ । सामान्य अवस्थाका संक्रमित स्वास्थ्यकर्मीको परामर्शमा औषधि लिएर घरमा नै बस्नु उत्तम हो । तर अहिलेको अवस्था के छ भने, हाेम आइसोलेसनमा रहेका कतिपय संक्रमितहरु खुलेआम बजारमा डुलिरहेका छन् ।

दशै तिहारको किनमेललाई बाहिर निस्किएको, भीडमा गइरहेको भन्ने सूचना हामीलाई आइरहेको छ । लक्षण देखिएको छैन भनेर संक्रमितहरु बाहिर हिँडिरहेको भन्ने सुन्नमा आएको छ । घरमा बस्दा सुरक्षित बस्ने तर उनीहरु आफूलाई लक्षण छैन भन्दै बजारमा हिँडिरहेका छन् जसले हजारौंलाई संक्रमित बनाउने जोखिम रहन्छ ।

यसरी ‘संक्रमितहरु खुलेआम बजारमा डुल्ने, किनमेल गर्ने गरिरहँदा कोरोना कसरी नियन्त्रण हुन्छ ?’ संक्रमितहरुले पनि आफ्नाे कर्तव्य आफैं बुझेर आत्मानुसासनमा बस्न जरुरी छ । नत्र संक्रमणले अझै विकराल रुप लिन्छ । यदि होम आइसोलेसनमा रहेकाहरुको कडा निगरानी भएन भने संक्रमण अझै फैलनेछ ।

लक्षण नभएकाहरुलाई घरमा नै सुरक्षाका मापदण्ड अपनाएर बस्नु भनेका हौँ । अहिले त खर्च लाग्ने डरले धेरै संक्रमितहरु अस्पताल पुगेका छैनन् । अस्पतालहरुले पनि संक्रमितलाई नलिएको पाइएको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई बेड छैन भनेर फिर्ता पठाउने गरेको गुनासो छ, यस्तो काम निजी अस्पतालबाट धेरै भइरहेको छ । यस विषयमा अनुगमन गर्न मन्त्रालयले समिति नै बनाइसकेकाे छ, समितिले स्थलगत अध्ययन गरि यस्ता समस्याकाे सम्वाेधन गर्नेछ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डे