तिहार नजिकिँदा ढाका टोपीको व्यापार बढ्यो

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाका टोपी व्यापार बढ्दै गएको छ। तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेकोले यसको व्यापार बढ्दै गएको व्‍यापारीहरुले बताएका छन्।

पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको ढाकाटोपी व्‍यापारी नकुल सिलवालले बताए।

उनले भने ‘ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ।’

चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागि हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाई छ । यसका साथै नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको उनले बताए।

उनका अनुसार यसले भाइटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटिकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौति दिएको छ ।