तल्लो जातको भनेर पैसा तिरेर पनि होटेलमा खाना दिदैनन

मिथिलाञ्चलमा छठ नजिकिँदै छ। डोम समुदाय नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री बनाउन र बजारसम्म पुर्याउन व्यस्त छ।

छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राखिन्छ। चोयाबाट बुनेका यस्ता भाँडामा फूलप्रसाद राख्दा सुन्दर देखिन्छ।

डोम समुदायको नाङ्लो लगायतका सामग्री बनाउने सीप जति सुन्दर छ, उनीहरुको जीवन त्यति नै कष्टपूर्ण छ। उनीहरु जातीय छुवाछुतको पीडा भोगिरहेका छन्। छोएको कोही खाँदैन भने उनीहरुलाई होटल वा सार्वजनिक स्थानमा अमानवीय व्यवहार गरिन्छ।

‘पैसा तिरेर पनि होटलमा खाना खान पाइँदैन। धेरै अनुरोध गरेपछि पातमा दिन्छन्। नास्ता कागजमा अनि चिया पिउन प्लास्टिकको कप’, जनकपुरधाम उपमहानगरपालिका–१६का अजय मलिकले भने, ‘पैसा तिर्दा पनि होटलमा खान नपाउनु यो कस्तो मानवता?’

उनीहरुले बनाएको सामानमा राखेर भगवान्लाई प्रसाद चढाइन्छ। तर उनीहरुमाथि अछुत व्यवहार गरिन्छ। उनले भने, ‘हामीले बनाएको नाङ्लो, डालो लगायतमा प्रसाद राखेर भगवानलाई अर्पण गर्न सकिन्छ तर हामी अछुत छौं।’

देशमा धेरै परिवर्तन भए पनि छुवाछुतको प्रथा कायम रहुन ज्यादै दुःखद पक्ष रहेको बताउँछन् रेवता मलिक।

जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरे पनि नयाँ पुस्तामा छुवाछुतको भावना हराउँदै गएको बताए।

सामाजिक कलंकका रुपमा रहेको जातीय छुवाछुत हटाउन सबै पक्षको सक्रिय भूमिमा आवश्यकता रहेको उनको भनाइ छ।
प्रदेश २ मा डोम समुदायको जनसंख्या एक लाख हाराहारीमा छ। तर उनीहरुका पक्षमा आवाज उठाउने कोही छैन। त्यसैले उनीहरुको जीवनस्तर पनि निकै कमजोर छ।

नीति निर्माण तहमा प्रतिनिधित्व नभएकाले पनि उनीहरुका लागि बोेलिदिने कोही नभएको भोर नामक संस्थाका अध्यक्ष राजकुमार महतो बताउँछन्।

अध्यक्ष महतोले जनचेतना बढेसँगै पहिले जस्तो छुवाछुतको समस्या नरहेको बताए। यद्यपि डोम समुदायको स्थिति सबल बनाउन कुनै योजना आउन नसकेको उनको भनाइ छ।

‘नेपालको संविधानअनुसार छुवाछुत दण्डनीय मानिन्छ तर व्यवहारमा लागू हुन सकेको छैन’, महतोले भने ‘यसलाई अन्त्य गर्न सामाजिक स्तरबाटै पहल हुनु आवश्यक छ।’