अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा सिन्धुलीगढी विजयोत्स मनाईँयो (फोटो सहित )

सिन्धुली , २५३ औं सिन्धुलीगढी विजयोत्सव मनाइएको छ। सोमबार कमलामाई नगरपालिकाको आयोजनामा ऐतिहासिक स्थल सिन्धुलीगढीमा सलामी र झण्डोत्तोलन गरेर सिन्धुली गढी विजयोत्सव मनाइएको हो।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले झण्डोत्तोलन र नेपाली सेनाले सलामी दिएर विजयोत्सव मनाइएको हो। झण्डोत्तोलन गर्दै नगरप्रमुख खत्रीले स्थानिय सरकार आएपछि सिन्धुली गढीको संरक्षण र पुन निर्माणको कामले तिव्रता लिएको बताए। देशकै नमुनाको रुपमा सिन्धुली गढीमा हाल युद्ध संग्रालय निर्माणको काम भइरहेको नगरप्रमुख खत्रीले बताए।

‘निर्माणाधिन युद्ध संग्राहलयको काम पुस मसान्तसम्ममा सम्पन्न गर्ने योजनामा छौं। रानी दरबार भन्दा पर बागमती प्रदेश सरकारले हिलस्टेशन बनाउँदै छ। यसको टेण्डर भएर सम्झौता भईसकेको छ। रानी दरबारको पनि दशैं अगाडी नै टेण्डर निस्कि सकेको छ।’ उनले भने । स्तम्भ निर्माणका लागि कमलामाई नगरपालिकाले टेण्डर निकालि सकेको नगरप्रमुख खत्रीले जानकारी दिए। समाधि पार्क निर्माणका लागि डिपिआर तयार भईरहेको नगरप्रमुख खत्रीको भनाइ छ।

सिन्धुली गढीको पुनः निर्माण र संरक्षण गरेर गढीको इतिहासलाई बचाउन नगरपालिका लागि परेको नगरप्रमुख खत्रीले बताए । कोरोना भाईरस(कोभिड १९) का कारण यस बर्ष नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु नबोलाइ तथा ठुलो भिडभाड नगरी विजयोत्सव मनाइएको छ। विगतमा भव्य रूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि औपचारिक निमन्त्रणा नगरी विजयोत्सव मनाइएको छ। तत्कालीन गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीगढिमा पराजित गरेको स्मरण स्वरुप प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढि विजयोत्सव मनाउने परम्परा रहिआएको छ।

तत्कालीन गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५३ वर्ष पूरा भएको छ। सिन्धुलीगढिमा आक्रमण गरेर काठमाडौं प्रवेश गर्न लागेको अंग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले १८२४ साल असोज १५ गते पौवा गढीमा पराजित गरेका थिए। वि.स. २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढि विजय उत्सव मनाउन शुरु गरेको थियो। सिन्धुलीगढिको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचारप्रसारका लागि उत्सव मनाउन शुरु गरेकोे थियो।

२५३ औं सिन्धुलीगढि विजयोत्सव तत्कालीन गोर्खाली सेनाको नेतृत्व गर्ने बंशु गुरुङका सन्तानहरु लमजुङदेखि सिन्धुलीगढिमा आएका थिए। विजयोत्सव कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो।