शक्तिशाली ठुलो केदार मन्दिर जहाँ जे मागे पनि पूरा हुने आस्था

ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् ।

यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् ।

यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ ।

यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् ।

अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ ।

यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ ।तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ ।