मन्त्री भट्टराईद्वारा नयाँ ‘संस्कार’को सुरुवात, देउवालाई भेटेर सुनाए कार्ययोजना

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् ।

मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरिरहेको कामको बारेमा जानकारी दिएका हुन् । आज बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवास पुगेर मन्त्री भट्टराईले आफूले सम्हालिरहेको मन्त्रालयको बारेमा जानकारी गराएका थिए ।

आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको भट्टराईले जानकारी दिए । उनले भने, ‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।’

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ । यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् ।