कोरोना महामारीका बेला बच्चा जन्माउनेलाई पुरस्कार दिने !

कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ ।

कोरोना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जोर्नसमेत धौधौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु समेत लथालिङ्ग बनिरहेका छन् । कतिपयले बिहे गर्ने तथा बच्चा जन्माउने योजनासमेत पर सारेका होलान् यतिबेला । जनताको यस्तै समस्यालाई मध्यनजर गर्दै सिंगापुरले गज्जबको योजना अघि सारेको छ ।

सिंगापुरले कोरोना महामारीको यस समयमा बच्चा जन्माउन चाहने अभिभावकहरुलाई प्रोत्साहन पुरस्कार दिने भएको छ । देशका नागरिकहरुलाई बच्चा जन्माउन प्रोत्साहित गर्दै सिंगापुरले बच्चा जन्माउने अभिभावकहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । सरकारी नगद सहयोगले दम्पतीहरुलाई कोरोना कालको फुर्सदमा बच्चा जन्माउने योजना बनाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले दम्पत्तिहरुले बच्चा जन्माउने योजनामा समस्याकेा सामाना गरिरहनु परेको छ । त्यसैले सरकारले मानिसहरुलाई गर्भाधानका लागि प्रोत्साहन गरिरहेको छ । सरकारले बच्चा जन्माउने अभिभावकलाई नगद पुरस्कार दिने घोषणा गरेको भए पनि पुरस्कार राशीचाहिँ घोषणा गरिसकेको छैन ।

स्मरण रहोस् सिंगापुर विश्वमा सबैभन्दा कम जन्मदर भएको मुलुक हो ।