‘पार्टी नफुटाइदिनुस्, देश बरबाद नगरिदिनुस्’ म हात जोडेर बिन्ति गर्छु ‘ – प्रधानमन्त्री ओली

काठमाडौं । सरकार ढाल्ने प्रयास असफल पार्न र पार्टी विभाजन रोक्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सक्रिय हुनुभएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आआफ्ना गुट सक्रिय पारेर सरकार ढाल्ने र पार्टी फोर्ने प्रयास थाल्नुभएको थियो । उहाँहरुले गुट भेलाहरु गर्दै प्रधानमन्त्री ओलीलाई घेरावन्दीमा पार्दै आउनुभएको छ । यस क्रममा सचिवायलको अनौपचारिक बैठक समेत गरिसको दुई गुटले सचिवालयको बैठक माग गरेको छ ।

पार्टी फोर्ने र सरकार ढाल्ने प्रयास तिब्र बनेपछि ओलीले त्यसलाई निस्तेज बनाउन सक्रियता देखाउनुभएको हो । यस क्रममा उहाँले वरिष्ठ नेता माधवकुमार नेपाल सहितको टोलीलाई आज बालुवाटारमा बोलाएर छलफल गर्नुभएको हो । छलफलमा के भयो भन्ने बारे औपचारिक रुपमा केही पनि बताइएको छैन । तर, प्रधानमन्त्री निकट एक नेताले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्रीले पार्टी नफुटाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीले हात जोड्दै ‘पार्टी नफुटाइदिनुस्, देश बरबाद नगरिदिनुस्’ भन्नुभएको ती नेतालो जानकारी दिए । प्रधानमन्त्रीलाई उदृत गर्दै ती नेताले भने– ‘नेकपाको विभाजन गरियो र सरकार ढालियो भने त्यसको असर सातवटै प्रदेशमा पर्छ । सम्पूर्ण स्थानीय तह पनि अस्थिर हुन्छ । देश बर्बादीतिर जान्छ, कृपया पार्टी नफुटाइदिनुस् ।’

उता, माधव नेपाल निकट एक नेताले आजको छलफलको जानकारी दिँदै भन्नुभयो– ‘माधव कमरेडले पार्टी एकताको खाका दिनुस्, मिलेर जाने आधार दिनुस्, सबैलाई समेट्ने कार्यक्रम दिनुस् नत्र सँगै बस्न सकिँदैन भन्नुभएको छ ।’ ती नेताका अनुसार अब पार्टी एकताको जिम्मेवारी प्रधानमन्त्री ओलीको काँधमा छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टी फाेर्ने र सरकार ढाल्ने प्रयास असफल पार्न अब भेटघाटलाई निरन्तरता दिनुहुने बताइएको छ ।